

बार्सिलोना — नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ ।
विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपालीहरु दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर छम छम नाचेका थिए ।
कार्यक्रममा नौमति पञ्चैबाजाको जीवन्त धुनमा पर्यटकहरु कम्मर मर्काउदै नाचेका थिए । चौबन्दी चोलो, गुन्यु, फरिया, गुन्यू, हाकु पटासी, घलेकी लगाएर नौगेडी, शिरफूल, शिरबिन्दू, ढुंग्री, झुम्का, तिलहरी, बुलाँकी, बाला, चुरामा सजिएका बालिकाहरु,महिलाहरुले नेपालीको झल्को दिएका थिए ।
नेपाली पाठशाला बार्सिलोनाले स-साना बालबालिकाहरुलाई नेपाली कला संस्कृति सिकाउदै आउने गरेको छ । पाठशालाका ससाना बाबुनानीहरुले समेत नेपाली मौलिक गीतमा नाचेका थिए ।
नेपाली राजदूत शनिल नेपालले नेपालीहरुको एकता देखिदा गौरव लागेको बताउनुभयो । ‘नेपाल चिनाउने यस्तै कार्यक्रमहरु भैरहनुपर्छ`, उनले भने, ´नेपाल कला, संस्कृतिको धरोहर हो` यस आयोजक संस्थाका अध्यक्ष विशाल ढुंगानाले विश्वमाझ नेपालको कला, संस्कृति फैलिने वातावरण बनेको बताए ।
सन् २०१८ देखि जनप्रगतिशील मञ्चले नयाँ वर्ष र दशै-तिहारमा वर्षेनि २ पटक पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ । जनप्रगतिशील मञ्चका युरोप उपाध्यक्ष गंगा भुषालले नेपालले नेपालको पर्यटन विकासमा प्रवासी नेपालीहरु सक्रिय बनेको बताए । कार्यक्रम परिसरमा नेपाली गन्तव्य चिनाउने पम्पलेट, ब्रोसरहरु सहितको टुरिजम इन्फो सेन्टर राखिएको थियो ।