

रुपन्देही — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनको माग गर्दै रुपन्देहीका उद्यमी र व्यवसायी समुदायले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ नेटवर्क रुपन्देही र रूपन्देही चेम्बर अफ कमर्सले आफ्नो माग पूरा गराउन दबाब दिन चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।
उद्योगीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि मिलेर निर्णायक आन्दोलन गर्ने बताएका छन्। सिद्धार्थ नेटवर्क रुपन्देहीको नेतृत्वमा हुने आन्दोलनका लागि संयुक्त आन्दोलन संघर्ष समिति पनि गठन गरिएको छ।
पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, संघ र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धित एयरलाइन्सका प्रमुखहरूसँग छलफल गरिने समितिका संयोजक तथा सिद्धार्थ नेटवर्कका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए।
त्यस्तै, हजारौं जनताको उपस्थितिमा विमानस्थल अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरिने, आन्दोलन कार्यक्रमबारे प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्री, श्रममन्त्री, स्वास्थ्यमन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखको ध्यानाकर्षण गराइने उनले बताए।