Home Login
पोर्चुगल

पोर्चुगल सरकारले ट्याप एयरलाइन्सको पूर्ण निजीकरण गर्ने

पोर्चुगल पोर्चुगलका प्रधानमन्त्रीले आज, जुलाई १०, २०२५ मा राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी, ट्याप एयर पोर्चुगलको भविष्यबारे एक महत्वपूर्ण घोषणा गरेका छन् । लामो समयदेखिको अनिश्चितता र बहसलाई अन्त्य गर्दै, सरकारले ट्याप एयरलाइन्सको पूर्ण निजीकरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले भने, “हामीले राष्ट्रिय हित र ट्याप एयर पोर्चुगलको दिगो भविष्य सुनिश्चित गर्न यो साहसिक तर आवश्यक कदम चालेका छौं । सरकारको यो निर्णयले एयरलाइन्सलाई थप प्रतिस्पर्धी बनाउने, यसको सञ्जाल विस्तार गर्ने र यात्रुहरूका लागि सेवाको गुणस्तर बढाउने विश्वास लिएका छौं’ ।

यो घोषणासँगै ट्याप एयरलाइन्सको व्यवस्थापन र स्वामित्वमा ठूलो परिवर्तन आउने निश्चित भएको छ । सरकारले निजीकरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन एक विशेष समिति गठन गरेको जनाएको छ ।

सम्भावित लगानीकर्ताहरूमा विश्वका ठूला एयरलाइन्स समूहहरू र लगानी कोषहरूले चासो देखाउन सक्ने अनुमान गरिएको छ ।

सरकारका अनुसार निजीकरणबाट प्राप्त हुने रकम राष्ट्रिय ऋण घटाउन र अन्य अत्यावश्यक सार्वजनिक सेवाहरूमा लगानी गर्न प्रयोग गरिनेछ । यद्यपि, सरकारले निजीकरणपछि पनि पोर्चुगलको राजधानी लिस्बनलाई ट्यापको मुख्य हबको रूपमा कायम राख्नुपर्ने र राष्ट्रिय हितका महत्वपूर्ण हवाई मार्गहरूलाई निरन्तरता दिनुपर्ने जस्ता शर्तहरू राख्नेछ ।

विपक्षी दलहरू र केही युनियनहरूले भने सरकारको यो निर्णयको आलोचना गरेका छन् । उनीहरूले राष्ट्रिय सम्पत्तिलाई निजी हातमा सुम्पिँदा यसले कर्मचारीहरूको रोजगारी र सेवाको पहुँचमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सन् २०२१ मा कोभिड-१९ महामारीको असरपछि आर्थिक संकटमा फसेको ट्याप एयरलाइन्सलाई पोर्चुगल सरकारले राष्ट्रियकरण गरेर डुब्नबाट जोगाएको थियो । त्यसयता युरोपेली आयोगको स्वीकृतिमा एयरलाइन्सले पुनर्संरचना योजना लागू गरिरहेको थियो । आजको यो घोषणाले ट्याप एयर पोर्चुगलको इतिहासमा एक नयाँ अध्यायको सुरुवात गरेको छ ।

Leave a Reply