मड्रिड (स्पेन) — युरोपमा नेपाली श्रमिकहरूको हकहित र कानुनी सुरक्षाका लागि लामो समयदेखि वकालत गर्दै आउनुभएका नेपाली जनप्रगतीशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलको नेतृत्वमा स्पेनको आल्वासेतेमा रहेका नेपाली समुदायले अन्ततः ठूलो ऐतिहासिक सफलता हात पारेका छन् । विभिन्न भ्रामक प्रचार, प्रशासनिक झमेला र केही समूहको सुनियोजित अवरोधलाई चिर्दै कँडेलको सक्रियतामा आल्वासेतेमा अलपत्र जस्तै रहेका करिब ३ सय नेपालीहरूको कानुनी प्रक्रिया र व्यवस्थापनले अब मूर्त रूप लिएको छ ।
यो अभियानको पहिलो सफलता स्वरूप आल्वासेतेमा रहेका ३ सय नेपालीहरूमध्ये ५० जनाको पहिलो समूह यसै साता व्यवस्थित बसोबास र रोजगारीको ग्यारेन्टीसहित आफ्नो नयाँ गन्तव्यतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरूको बसोबास अनुमति (रेसिडेन्सी) आउन सुरु भएसँगै लामो समयदेखि कायम अन्योलता हटेको छ । यस सन्दर्भमा भावुक हुँदै कँडेलले कष्टकर बसाई र अनेकौँ हण्डरका बीच भविष्य खोजिरहेका दाजुभाइहरूको अनुहारमा देखिएको खुसी नै आफ्नो संघर्षको वास्तविक प्रतिफल भएको बताउनुभयो । उहाँले ज्यान जोखिममा राखेर दौडिँदाका कठिन क्षणहरूले बल्ल न्याय पाएको महसुस भएको प्रतिक्रिया दिनुभएको छ ।
विगत केही समययता आल्वासेते, नुलेस र भ्यालेन्सिया क्षेत्रमा रहेका नेपालीहरूलाई लक्षित गरी केही तत्त्वहरूले “कागज बन्दैन” भन्दै भड्काउने र “जागिर खोस्न पुलिस ल्यायो” जस्ता निकृष्ट र आधारहीन आरोप लगाउँदै आएका थिए । तर, अहिलेको यो नतिजाले ती भ्रामक प्रचार र षड्यन्त्रहरूलाई कडा जवाफ दिएको छ ।
कँडेलले समाजका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले नै नेपाली श्रमिकहरूलाई उक्साउने र विचलित बनाउने प्रयास गरे पनि अन्ततः सत्यको जित भएको स्पष्ट पार्नुभयो ।
आल्वासेतेमा ठूलो सफलता मिले पनि समग्र स्पेनमा रहेका नेपालीहरू भने राहदानी (पासपोर्ट) को गम्भीर संकटमा फसेका छन् । स्पेन सरकारले आप्रवासीहरूका लागि विशेष अध्यागमन अवसर खुलाएको भए पनि राहदानी नहुँदा धेरैले यो अवसर गुमाउने खतरा बढेको छ । विशेष गरी नेपाली दूतावास र एनआरएनए स्पेनबीचको बार्सिलोना घटनाका कारण सिर्जित टकरावले राहदानी नवीकरण प्रक्रिया झन्डै एक वर्ष पछि धकेलिएको छ । यस विषयमा कँडेलले कडा अडान लिँदै एनआरएनए स्पेनलाई नैतिकताको आधारमा माफी माग्न र दूतावाससँग तत्काल सम्बन्ध सुधार गर्न चेतावनी दिनुभएको छ । व्यक्तिगत प्रतिष्ठा भन्दा हजारौँ नेपालीको भविष्य ठूलो हुने उहाँको जिकिर छ ।
अहिले स्पेनको नेपाली समुदायमा केशवराज कँडेल केवल एक राजनीतिक नेताका रूपमा मात्र नभई ‘संकटको सारथी’ का रूपमा उदाउनुभएको छ । पदको आडमा राजनीति गर्ने परिपाटीभन्दा फरक, उहाँले भुइँ तहमा पुगेर श्रमिकका वास्तविक समस्या सुल्झाउन देखाउनुभएको तत्परताको यतिबेला अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा हुन थालेको छ ।





