काठमाडौँ — पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् ।
नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । गत वर्षको यो अवधिमा पाँच लाख ८३ हजार पर्यटक नेपाल आएका थिए । अर्थात्, गत वर्षको तुलनामा पर्यटक आवागमनमा खासै बदलाव भने भएको देखिएन । यो वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् ।
बोर्डको तथ्यांकअनुसार २०२५ को जनवरीदेखि जुनसम्म दक्षिण एसियाका दुई लाख तीन हजार २४२ पर्यटक नेपाल आएका छन् । त्यस्तै, एसियाबाट एक लाख ३२ हजार ७५०, युरोपबाट एक लाख २ हजार ५२४, ओसियानाबाट २४ हजार १६९, अमेरिकाबाट ७० हजार ४५६, मध्यपूर्वी राष्ट्रबाट १० हजार एक सय २५, अफ्रिकाबाट २०५२ र अन्य राष्ट्रबाट ३२ हजार ३७१ पर्यटक नेपाल आएको वरिष्ठ अधिकृत अविन्द्र भट्टले जनाए ।
नेपाल आउने धेरै पर्यटकमा दक्षिण एसियालीको संख्या अन्यको भन्दा धेरै छ । जसमध्ये पनि भारतका पर्यटक धेरै रहेका छन् । त्यस्तै, २०२४ को सोही अवधिमा पनि दक्षिण एसियाकै पर्यटक धेरै नेपाल आएका थिए ।
बोर्डको तथ्यांक अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल आएका थिए ।
अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा सन् २०२३ मा दश लाख १४ हजार ८८२, २०२२ मा ६ लाख १४ हजार ८६९, २०२१ मा १ लाख ५० हजार ९६२ र २०२० दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको प्रभावले २०२० देखि २०२२ सम्म पर्यटक आवागमनमा निकै असर परेको तथ्यांकले देखाउँछ ।