Home Login
प्रविधि

एक वर्षमा ८ लाख ३९ हजार बढी नेपाली श्रम स्वीकृति लिएर विदेश उडे

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् ।

वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उनले बताए । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असार सम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् ।

वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिट लाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए ।

उनले विगत डेढ महिना देखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिए । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राही मैत्री बनाउने लक्ष्य अनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए ।

यस्तै, वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

Leave a Reply