म्यान्चेस्टर, युके — 8848 भाइभ्सको संयोजनमा बेलायतको म्यानचेस्टर शहरमा गायक राज सिद्गेलको एकल शास्त्रीय सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । यहि २० जुलाई आइतबार म्यानचेस्टरको द डेफ भेन्युमा भएको कार्यक्रममा गजल तथा शास्त्रीय गायक राज सिग्देलले करिब ३ घण्टा दर्शकहरुलाई आफ्ना चर्चित गजलहरु तथा शास्त्रीय गितहरुले मन्त्रमुग्ध बनाउनुभएको थियो ।
नेपालको चितवनमा नयाँ कन्सेप्टमा खुल्न लागेको अध्यात्म संगीत आश्रमलाई सहयोग गर्ने उदेश्यले आयोजित सांगीतिक साँझमा म्यान्चेस्टर, लिभरपुल, बोल्टन र प्रेस्टन क्षेत्रबाट शास्त्रीय संगीतमा रुचि राख्ने नेपालीहरुको उलेख्य उपस्थिति रहेको थियो । ‘अध्यात्म र शास्त्रीय संगीतलाई जोड्ने म्युजिक एकेडेमी जस्तो नया कन्सेप्टमा हामि सहयोगी बन्न पाउँदा खुसि लागेको छ ।
गायक राज सिद्गेलज्युको यस्तो महत्वपूर्ण प्रोजेक्टमा सहयोगको हिस्सा बन्न पाएकोमा 8848 भाइभ्स गौरव महसुस गर्दछ’ कार्यक्रमपछि 8848 भाइभ्सका निर्देशक मनोज बजगाईंले खुशी हुँदै भन्नुभयो ।
गायक राज सिग्देलको मुख्य प्रस्तुति अगाडी कार्यक्रममा गाला डिनर, ओपन माईक, अनौपचारिक परिचयात्मक लगायतका सेग्मेंट राखिएको थियो ।
त्यस्तै कार्यक्रममा ८८४८ भाइभ्सले प्रेस्टनका उदयमान युवाहरुले संचालन गरेको जोली जन्क्सन इभेन्टसंग साझेदारी सम्बन्ध स्थापना गरेको समेत घोषणा गरिएको थियो ।
8848 भाईभ्सले च्यारिटी सस्थाको रुपमा 8848 फाउन्डेसन खुल्न लागेको जानकारी कार्यक्रममा दिइएको थियो । प्रस्तावित फाउन्डेसनले गायक सिग्देलको नेतृत्वमा बन्न लागेको आध्यात्मिक संगीत आश्रमलाई एक लाख रुपैया सहयोग गर्ने घोषणा समेत गरिएको थियो ।
प्रस्तावित 8848 फाउन्डेसनका संयोजक अनिल पौडेलका अनुसार फाउन्डेसनले नेपाल र बेलायतलाई विभिन्न प्रोजेक्ट मार्फत जोड्न निकट भविश्यमा थुप्रै कार्यक्रम घोषण गर्ने बताए। पर्यावरण चुनौती, असमानता आदि विषयमा नेपाल र बेलायतले उस्तै प्रकृतिका समस्या भोगिरहेको समयमा खुल्न लागेको 8848 फाउन्डेसनले नेपालीहरुको हित हुने किसिमका प्रोजेक्ट नेपालमा लाने उदेश्य्य लिएको संयोजक पौडेलले जनाए ।
कार्यक्रमको होस्टको रुपमा ८८४८ भाइभ्सकि योजना दाहाल र अनिल पौडेलले संयुक्त रुपमा सांगीतिक साँझ संचालन गरेका थिए ।
