काठमाडौँ — विश्वमा अर्बपतिहरूको संख्या र उनीहरूको सम्पत्तिमा निरन्तर वृद्धि भइरहेको छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार, संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै अर्बपति भएको देशको सूचीमा शीर्ष स्थानमा कायमै छ । यता, युरोपेली देश पोर्चुगल भने अर्बपतिको संख्यामा धेरै पछाडि रहेको देखिएको छ ।
फोर्ब्सको सन् २०२५ को तथ्याङ्क अनुसार, अमेरिकामा विश्वकै सबैभन्दा धेरै ९०२ जना अर्बपति रहेका छन् । यो संख्याले अमेरिकालाई धनाढ्यहरूको प्रमुख केन्द्रको रूपमा स्थापित गरेको छ । अमेरिकापछि चीन ४५० अर्बपतिका साथ दोस्रो स्थानमा छ । चीनले पछिल्ला वर्षहरूमा आर्थिक विकासमा मारेको फड्कोसँगै अर्बपतिहरूको संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ ।
तेस्रो स्थानमा भारत रहेको छ, जहाँ २०० जना अर्बपति छन् । भारतमा पनि तीव्र गतिमा अर्बपतिहरूको संख्या बढिरहेको छ ।
सबैभन्दा धेरै अर्बपति भएका शीर्ष १० देशहरू :
१ संयुक्त राज्य अमेरिका : ९०२
२ चीन : ४५०
३ भारत : २०५
४ जर्मनी : १७१
५ रुस : १४०
६ क्यानडा : ७६
७ इटाली : ७४
८ हङकङ : ६६
९ ब्राजिल : ५६
१० संयुक्त अधिराज्य : ५५
यो सूचीमा जर्मनी १७१ अर्बपतिका साथ चौथो र रुस १४० अर्बपतिका साथ पाँचौं स्थानमा छन् ।
युरोपमा पोर्चुगलको स्थान :
युरोपेली संघको सदस्य राष्ट्र पोर्चुगलमा भने अर्बपतिको संख्या नगन्य छ । रिपोर्टअनुसार, पोर्चुगलमा मात्र एक जना अर्बपति रहेका छन् । यसले पोर्चुगललाई विश्वव्यापी अर्बपतिहरूको सूचीमा निकै पछाडि, ६१ औं स्थानमा राखेको छ । युरोपका अन्य प्रमुख देशहरू जस्तै जर्मनी, रुस, इटाली र संयुक्त अधिराज्यको तुलनामा पोर्चुगलमा धनाढ्यहरूको संख्या निकै कम देखिन्छ ।
यो तथ्याङ्कले विश्वव्यापी रूपमा सम्पत्तिको वितरण र विभिन्न देशहरूको आर्थिक शक्तिको अवस्थालाई पनि उजागर गरेको छ । जहाँ एकातिर अमेरिका, चीन र भारतजस्ता देशहरूमा अर्बपतिहरूको संख्या बढ्दो क्रममा छ, त्यहीँ अर्कोतिर पोर्चुगलजस्ता साना अर्थतन्त्र भएका देशहरूमा धनाढ्यहरूको उपस्थिति पातलो रहेको छ ।