पोर्चुगल (लिस्बन) — पोर्चुगलको आप्रवासन तथा एकीकरण एजेन्सीले सेप्टेम्बर २०२५ मा आफ्नो आवासीय अनुमति पत्रको म्याद सकिन लागेका विदेशी नागरिकहरूका लागि अनलाइन नवीकरण पोर्टल खुला गरेको छ । यो कदमले हजारौं नेपाली लगायत अन्य आप्रवासीहरूलाई ठूलो राहत प्रदान गर्नेछ, जसले अब बिना झन्झट घरबाटै आफ्नो आवासीय अनुमति पत्र नवीकरण गर्न सक्नेछन् ।
आप्रवासी मामिलामा सहजीकरण गर्ने उद्देश्यले एआईएमएले केही महिना अघि सुरु गरेको चरणबद्ध अनलाइन प्रणाली अन्तर्गत यो नयाँ सुविधा थपिएको हो । यसअघि जुलाई र अगस्ट महिनामा म्याद सकिने अनुमति पत्रका लागि यो सुविधा उपलब्ध गराइएको थियो र अब सेप्टेम्बर महिनाको लागि पनि खोलिएको हो ।
कसरी गर्ने नवीकरण ?
जुन ३०, २०२५ पछि आवासीय अनुमतिको म्याद सकिने सबैले यो अनलाइन प्रणालीमार्फत नै नवीकरण गर्नुपर्ने नियम एआईएमएले बनाएको छ । प्रक्रिया सरल र छिटो छ :
१. पोर्टलमा पहुँच : सबैभन्दा पहिले, AIMA को आधिकारिक नवीकरण पोर्टल portal-renovacoes.aima.gov.pt मा जानुहोस् ।
२. दर्ता र लगइन : पोर्टलमा आफ्नो व्यक्तिगत विवरणहरू प्रयोग गरी दर्ता गर्नुहोस् र आफ्नो खातामा लगइन गर्नुहोस् ।
३. आवेदन भर्नुहोस् : स्क्रिनमा देखाइएको निर्देशन अनुसार आवश्यक विवरणहरू भर्नुहोस् र आफ्नो आवेदन पेस गर्नुहोस् ।
४. आवश्यक शर्तहरू : आवेदन दिनु अघि, आवेदकहरूले आफ्नो कर (Finanças) र सामाजिक सुरक्षा (Segurança Social) सम्बन्धी कुनै पनि बक्यौता नरहेको सुनिश्चित गर्नुपर्छ । प्रणालीले स्वचालित रूपमा यी विवरणहरू जाँच गर्नेछ ।
५. शुल्क भुक्तानी : आवेदन स्वीकृत भएपछि, प्रणालीले भुक्तानीका लागि एउटा कागजात (DUC – Documento Único de Cobrança) जारी गर्नेछ । उक्त शुल्क अनलाइन वा तोकिएको स्थानमा भुक्तानी गर्न सकिन्छ ।
यो अनलाइन प्रणालीले एआईएमएको कार्यालयमा हुने लामो लाइन र अपोइन्टमेन्टका लागि कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ । यसले प्रक्रियालाई थप पारदर्शी, छिटो र प्रभावकारी बनाएको छ ।
एआईएमएले सबै सम्बन्धित व्यक्तिहरूलाई आफ्नो आवासीय अनुमति पत्रको म्याद सकिने मितिप्रति सचेत रहन र समयमै नवीकरण प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । तोकिएको समयमा नवीकरण नगर्दा कानुनी जटिलताहरू उत्पन्न हुन सक्ने र पोर्चुगल तथा अन्य सेन्जेन देशहरूमा यात्रा गर्न कठिनाइ हुन सक्ने हुनाले यस विषयमा गम्भीर हुन पनि सुझाइएको छ ।