पोर्चुगल (लिस्बन) — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली राष्ट्र पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी सेप्टेम्बर २८ देखि प्रदर्शनमा आउन लागेको हो ।
पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा चलचित्रलाई प्रदर्शनमा ल्याउन लागेका हुन् । राजधानी लिस्बनको प्रतिष्ठित ‘सिनेमा आइडल’मा चलचित्रको चार विशेष शो आयोजना गरिनेछ ।
आयोजकका अनुसार, चलचित्रको प्रदर्शन तालिका यसप्रकार रहेको छ :
सेप्टेम्बर २८, आइतबार : बिहान ११:३० बजे
सेप्टेम्बर २९, सोमबार : राति ९:०० बजे
सेप्टेम्बर ३०, मंगलबार : राति ९:०० बजे
अक्टोबर १, बुधबार : राति ९:०० बजे
चलचित्र हेर्नका लागि टिकट मूल्य १२.५० युरो तोकिएको छ भने १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि ८ युरोको सहुलियत दर राखिएको छ । टिकट अनलाइन लिङ्क मार्फत वा सिधै फोन गरेर बुक गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । टिकटका लागि +३५१-९२०२८३३१९, +३५१-९६१४०८६५५, वा +३५१-९२४४०८५३६ मा सम्पर्क गर्न सकिनेछ ।
आयोजक संस्थाहरूले ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने उद्देश्यका साथ पोर्चुगलमा नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २’ मा पहिलो श्रृंखलाका मुख्य कलाकारहरू दयाहाङ राई, मिरुना मगरसँगै विजय बरालको पनि प्रमुख भूमिका रहेको छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माताहरूमा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन् ।
चलचित्रले पूर्वी नेपालको लिम्बु समुदायमा प्रचलित ‘जारी प्रथा’ लाई कथावस्तुको केन्द्रमा राखेको छ । सन् २०२३ मा प्रदर्शन भएको ‘जारी’ ले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै कीर्तिमानी सफलता हासिल गरेको थियो । सोही सफलता र दर्शकको मायालाई ध्यानमा राख्दै निर्माण पक्षले दोस्रो श्रृंखला तयार पारेको हो । यो प्रदर्शनले पोर्चुगलमा रहेका नेपाली दर्शकहरूलाई आफ्नो भाषा र संस्कृतिको चलचित्र ठूलो पर्दामा हेर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।