Home Login
पोर्चुगल

१२ वर्षपछि पोर्चुगलका गहना चोर बेलायतमा पक्राउ

पोर्चुगल — सन् २०१३ मा पोर्चुगलको सिन्ट्रा नगरपालिकामा रहेको एक गहना पसलमा भएको लुटपाट र अपहरणको घटनामा संलग्न एक व्यक्तिलाई १२ वर्षपछि बेलायतमा पक्राउ गरी पोर्चुगल सुपुर्दगी गरिएको छ । पोर्चुगिज न्यायिक प्रहरी (पीजे) ले एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीय पुरुषलाई गम्भीर डकैती र अपहरणको आशंकामा पक्राउ गरिएको जनाएको छ ।

घटना २८ मे, २०१३ को हो, जब ती व्यक्तिले लुकाइएको विद्युतीय हतियार र नक्कली काँसाको हतियार बोकेर गहना पसलमा प्रवेश गरेका थिए। सुरुमा उनले विभिन्न गहनामा रुचि देखाउँदै पसलेलाई अलमल्याएका थिए। त्यसपछि, उनले पसलेलाई विद्युतीय झट्का दिएर अचेत बनाए र उनको हात बाँधेर मुखमा टेप लगाइदिए ।

विज्ञप्तिका अनुसार, आक्रमणकारीले पसलेलाई घिसारेर पसलको गोदाममा लगे र त्यहाँ बन्धक बनाएर राखे। पीडितलाई नियन्त्रणमा लिएपछि, उनले पसलको डिस्प्ले केसहरूबाट लगभग तिस हजार युरो (आजको विनिमय दरअनुसार करिब ४३ लाख नेपाली रुपैयाँ) मूल्य बराबरका विवाहका औंठी, झुम्का, ब्रेसलेट, हार र पदकहरू सहित सुनका विभिन्न गहनाहरू लुटेर फरार भएका थिए ।

पोर्चुगिज न्यायिक प्रहरीले लामो समयदेखि यस घटनाको अनुसन्धान गरिरहेको थियो । अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा, संदिग्ध बेलायतमा रहेको पत्ता लागेको थियो । बेलायती प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी हालै पोर्चुगल सुपुर्दगी गरिएको हो ।

पक्राउ परेका व्यक्ति विदेशी नागरिक भएको र उनलाई न्यायिक प्रक्रियाका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । यो गिरफ्तारीले लामो समयसम्म नसुल्झिएका अपराधका घटनाहरू पनि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यबाट सफल हुनसक्छ भन्ने कुरालाई उजागर गरेको छ । पीडित पसलेले १२ वर्षपछि भए पनि न्याय पाउने आशा व्यक्त गरेका छन् ।

Leave a Reply