संयुक्त अरब इमिरेट्स— संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकलाई दिइँदै आएको भिजिट भिसा भदौ ३० सोमबार देखि अस्थायी रूपमा रोक लगाएको छ ।
यस सम्बन्धमा युएई सरकारले कुनै आधिकारिक सूचना सार्वजनिक नगरे पनि भिसा सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकका आवेदन लिन छाडेका छन् । आवेदन पेस गर्ने क्रममा उनीहरूलाई ‘नेपाली नागरिकका लागि भिजिट भिसा अस्थायी रूपमा रोकिएको’ जानकारी दिइएको छ ।
भदौ २४ गते नेपालमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएकाले युएईले सतर्कता अपनाउँदै भिजिट भिसाको आवेदन अस्थायी रूपमा नलिने निर्णय गरेको बताइएको छ ।
साथै, जेलबाट फरार भएका कैदीसम्बन्धी घटनाले समेत युएईले नेपालीलाई लक्षित गरी कडाइ गर्न थालेको बुझिएको छ ।
नेपालबाट सर्वाधिक संख्यामा भिजिट भिसा लिएर जाने मुलुकमध्ये युएई प्रमुख गन्तव्य हो । भिजिट भिसा रोकिँदा निकट भविष्यमा रोजगारी, भ्रमण वा पारिवारिक भेटघाटका लागि तयारी गरेका धेरै नेपाली प्रभावित हुने देखिएको छ ।