Home Login
संघ-संस्था

नेप्लिज वोमन एसोशियसन पोर्चुगलको पाँचौं अधिवेशन फेब्रुअरी १ तारिख हुने

पोर्चुगल (लिस्बन) — नेपाली महिलाहरूको हकहित र सशक्तीकरणका लागि पोर्चुगलमा सक्रिय संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आगामी फेब्रुअरी १ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ । यसअघि जनवरी ४ का लागि तय गरिएको यो अधिवेशन विविध प्राविधिक कारणवश स्थगित हुन पुगेको थियो । संस्थाले लामो प्रतीक्षापछि नयाँ मिति तय गर्दै आफ्ना गतिविधिहरूलाई थप ऊर्जाका साथ अघि बढाउने तयारी गरेको हो ।

लिस्बनको एभरेस्ट मम आन्जुसमा हुने यस विशेष कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली महिलाहरूको साझा उपस्थितिलाई पुनः एकपटक मजबुत बनाउने अपेक्षा गरिएको छ । प्रवासको व्यस्त जीवनका बाबजुद नेपाली कला, संस्कृति र परम्परालाई जोगाइराख्न यस संस्थाले खेल्दै आएको भूमिका निकै सराहनीय छ ।

स्थापनाकालदेखि नै महिलाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि र सामाजिक एकतामा केन्द्रित यो संस्था पोर्चुगलको नेपाली समुदायमा एक भरपर्दो खम्बाका रूपमा स्थापित छ ।

यस पाँचौं अधिवेशनलाई संस्थाको इतिहासमा एउटा महत्वपूर्ण ‘कोसेढुङ्गा’ का रूपमा हेरिएको छ ।अधिवेशनले विगतका कामहरूको समीक्षा मात्र गर्ने छैन, बरु आगामी कार्यकालका लागि नयाँ र ऊर्जावान् नेतृत्व चयन गर्दै थप रचनात्मक र प्रभावकारी योजनाहरूको रूपरेखासमेत तयार गर्नेछ । विशेषगरी आपतकालीन अवस्थामा राहत प्रदान गर्ने र महिलाहरूका समस्यामा ठोस सहयोग पुर्‍याउने कार्यलाई आगामी नेतृत्वले अझ बढी प्राथमिकता दिने विश्वास व्यक्त गरिएको छ ।

संस्थाले यस ऐतिहासिक अधिवेशनमा सहभागी भई एकताको सन्देश दिन र महिला सशक्तिकरणको अभियानलाई सफल बनाउन पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणासमेत गरेको छ ।

Leave a Reply