Home Login
भिडियो

पोर्चुगलको सुन्दरतामा ‘काजिको पैसा बोरामा’, प्रयास र जितुको नयाँ गीत सार्वजनिक

पोर्चुगल — नेपाली लोक तथा दोहोरी गीतको बजार पछिल्लो समय निकै फराकिलो र प्रतिस्पर्धी बन्दै गएको छ । करोड क्लबमा गीतहरू प्रवेश गर्ने होड चलिरहेका बेला, दर्शक तथा श्रोताको मन जित्ने क्रममा नयाँ-नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन् । यही भिडमा, गायक प्रयास दोड र गायिका जितु लोप्चनले आफ्नो नयाँ गीत ‘काजिको पैसा बोरामा’ दर्शकमाझ ल्याएका छन् ।

‘प्रयास दाङ’ नामक युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको यो गीतले छोटो समयमै चर्चा बटुल्न थालेको छ। गीतमा प्रयास दोडकै शब्द तथा संगीत रहेको छ, जसले गीतलाई थप मौलिक र जीवन्त बनाएको छ ।

गीतको सबैभन्दा आकर्षक पक्ष यसको म्युजिक भिडियो हो, जसलाई युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको छ । पछिल्लो समय युरोपमा नेपालीहरूको बाक्लो बसोबास बढ्दै जाँदा त्यहाँ नेपाली गीत तथा चलचित्रको छायांकन हुने क्रम बढेको छ । यही प्रवृत्तिलाई पछ्याउँदै ‘काजिको पैसा बोरामा’ को भिडियोले पोर्चुगलको सुन्दरतालाई नेपाली मौलिकतासँग मिसाएको छ ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक, फेसबुक पेज तथा रिल्सहरूमा भाइरल हुन थालेको छ। भिडियोको रमाइलो प्रस्तुति र आकर्षक लोकेशनका कारण दर्शकहरूले यसलाई निकै मन पराइरहेका छन् ।

गीतको भिडियोलाई उत्कृष्ट बनाउन एक सबल टिमले काम गरेको छ । भिडियोमा विशाल लामा, पुष्पा गुरुङ, राकेश तामाङ र प्रतिमा पुन मगरको जीवन्त अभिनय देख्न सकिन्छ । उनीहरूलाई संस्कृति पौडेल, शिस्ता ठकुरी, बिपना कँडेल,रुस्टिका गौतम र सजना विश्वकर्माले नृत्यमा सशक्त साथ दिएका छन् ।

त्यस्तै, अतिथि कलाकारको भूमिकामा निश्चल गुरुङ, छेवाङ तामाङ, सनम गोले र सुरज राज बिकेले पनि आफ्नो उपस्थिति जनाएका छन् ।

भिडियोको प्राविधिक पक्ष पनि उत्तिकै बलियो छ । जसमा निर्देशक तथा कोरियोग्राफर राकेश सुनारले गरेका छन् । त्यस्तै रवीन्द्र न्यौपानेले छायांकन गरेको म्युजिक भिडियोलाई नीर तामाङले सम्पादन गरेका छन् । त्यसो त, राकेश तामाङले म्युजिक भिडियो निर्माताको भूमिका निर्वाह गरेका छन् । उता अडियोमा भने तेन्देल तामाङले गरेका हुन् । त्यसै सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई अझै छायांकनमा व्यवस्थित बनाउनका लागि ड्रोनमा लाक्पा शेर्पा (डेजी क्रिएशन) ले साथ दिएका छन् ।

पछिल्लो समय पोर्चुगल नेपालीहरूको बाक्लो बसोबास भएको क्षेत्र बनेको छ । यही कारणले गर्दा अहिले त्यहाँ नेपाली म्युजिक भिडियोदेखि चलचित्रहरूको छायांकन समेत हुन थालेको छ । यद्यपि, गीतसंगीत क्षेत्रमा सक्रिय नेपालीहरूको उपस्थिति भने अझै कम रहेको पाइन्छ । यस्तो अवस्थामा ‘काजिको पैसा बोरामा’ जस्ता सिर्जनाहरूले प्रवासमा रहेका नेपाली कलाकारहरू लाई थप हौसला प्रदान गर्ने देखिन्छ ।

‘काजिको पैसा बोरामा’ आकर्षक संगीत, सुन्दर दृश्य र जीवन्त अभिनयको एक उत्कृष्ट संयोजन हो । विदेशमा बसेर पनि नेपाली कला, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने यस गीतको टिमको प्रयासलाई दर्शक तथा श्रोताले दिएको प्रारम्भिक मायाले यसको सफलताको संकेत गर्दछ ।

हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply