मलेसिया (क्वालालम्पुर) — मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी साता आयोजना हुने ४७ औं दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सम्मेलनलाई सुरक्षित र सुचारु रूपमा सम्पन्न गर्न सहरको केन्द्र भाग लगभग पूर्ण रूपमा बन्द गरिने भएको छ भने देशभरबाट १६ हजार प्रहरी परिचालन गरिनेछ ।
मलेसियाका परराष्ट्र मन्त्री दातुक सेरी मोहम्मद हसनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार, शाही मलेसिया प्रहरी (PDRM) बल अक्टोबर २३ देखि २८ सम्म उच्च सतर्कतामा रहनेछ । “प्रहरीले देशभरिबाट करिब १६ हजार जनालाई क्वालालम्पुर र त्यसको वरपरका क्षेत्रमा पठाउनेछ, जसले यातायात व्यवस्थापनमा सहयोग पुर्याउनेछ । त्यसैले सहरको केन्द्र पूरै बन्द हुनेछ र सुरक्षा मामिलामा कुनै सम्झौता गरिने छैन,”मन्त्री हसनले बताउनुभयो ।
आसियानको वर्तमान अध्यक्ष राष्ट्रको रूपमा मलेसियाले अक्टोबर २६ देखि २८ सम्म यो महत्वपूर्ण सम्मेलनको आयोजना गर्दैछ ।
सम्मेलनका कारण क्वालालम्पुरको ट्राफिक व्यवस्थापनमा ठूलो प्रभाव पर्ने देखिएको छ । क्वालालम्पुर कमाण्ड एन्ड कन्ट्रोल सेन्टर (KLC3) का अनुसार, मुख्य सडकहरू र राजमार्गहरू अक्टोबर २६ देखि २८ सम्म पटक–पटक बन्द गरिनेछ । उच्चस्तरीय सरकारी प्रतिनिधिहरूको सवारीलाई सहज बनाउन ३० देखि ४५ मिनेटको अन्तरालमा सडकहरू बन्द गरिनेछ ।
सम्मेलन स्थलको २५ किलोमिटर वरपरका करिब ७० वटा विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन गरिनेछ भने सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न आग्रह गरिएको छ ।
यो शिखर सम्मेलनमा आसियान सदस्य राष्ट्रहरूका साथै अन्य विश्व नेताहरूको पनि सहभागिता रहनेछ । परराष्ट्र मन्त्री हसनका अनुसार, ब्राजिल, दक्षिण अफ्रिका जस्ता देशहरू आसियानको “सेक्टोरल संवाद साझेदार” का रूपमा सहभागी हुनेछन् । यसका साथै, साइप्रस र फिनल्याण्ड पनि आसियानका नयाँ संवाद साझेदार बन्ने अपेक्षा गरिएको छ, जसले आसियानको बढ्दो विश्वव्यापी पहुँचलाई दर्शाउँछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि सहभागिता रहने अपेक्षा गरिएको छ, यद्यपि उनको आगमनको मिति भने निश्चित भइसकेको छैन । उनको सहभागिताले सम्मेलनलाई थप कूटनीतिक उचाइ प्रदान गर्ने विश्वास गरिएको छ ।
मलेसिया सरकारले ४७ औं आसियान शिखर सम्मेलनलाई सफल बनाउन सुरक्षा र व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ । यी उपायहरूले स्थानीय बासिन्दालाई केही असुविधा भए तापनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमलाई सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक रहेको अधिकारीहरूले बताएका छन् ।