साइप्रस — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले आउँदो नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गर्न लागेको हो ।
विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत भाइचारा र एकता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न फुट्सल प्रतियोगिताहरू आयोजना गर्दै आएको गडग्रेस फुटबल क्लबले यसपटक पहिलो पटक सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमलाई भव्य र अविस्मरणीय बनाउन नेपालका चर्चित युवा गायक उर्गेन दोङ साइप्रस आउने भएका छन् । पछिल्लो समय नेपाली युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बनेका गायक दोङलाई गड ग्रेस सिएफले साइप्रस ल्याउन लागेको हो ।
कार्यक्रममा गायक दोङले आफ्ना “तिम्रो मन बदलिएछ”, “नजाउ टाढा”, “बिनायो” जस्ता निकै चर्चित गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार, मुख्य कलाकार दोङका साथै साइप्रसमा रहेका स्थानीय नेपाली कलाकारहरूले पनि आफ्नो बेजोड प्रस्तुतिहरू राख्ने कार्यक्रम तय भएको छ ।
आयोजकले कार्यक्रममा आउने दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै टिकट शुल्कमा विशेष सहुलियत दिएको छ । २० युरोको टिकटमा दर्शकहरूले खाना र यातायात (बस सेवा) सहित अतिथि कलाकारहरूसँग रम्न र रमाउन पाउनेछन् ।
नोभेम्बर ९ तारिख आइतबारका दिन साइप्रसका विभिन्न प्रमुख शहरहरूबाट कार्यक्रम स्थल लिमासोलको नियो फियस्ता बेनक्विट हलसम्म आउन र जानका लागि बस सेवा सुचारु गरिनेछ । आयोजकले आफूलाई पायक पर्ने स्थानबाट बस सेवा लिन र कार्यक्रममा सहभागी भई यसलाई भव्य रूपमा सफल पारिदिन साइप्रसमा रहेका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।
खेलकुदसँगै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहने आयोजकले अपेक्षा लिएको छ ।






