काठमाडौं — लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् ।
सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा अधिकारीले स्वर दिएका छन् । तीन जनाको स्वरले गीतको भावलाई अझै जीवन्त बनाएको छ ।
‘सामाजिक सञ्जाल म्यानेजर’को मार्मिक शब्द
गीतको सबैभन्दा बलियो पक्ष यसको शब्द हो, जसलाई सन्तोष सापकोटाले रचना गरेका हुन् । गीतमा कृष्ण रेउलेले थेगो र प्रदीप रोदनले गजल अंशमार्फत शब्दमा थप गहिराइ थपेका छन् । विशेष कुरा त के छ भने, यस्ता मार्मिक र यथार्थपरक शब्द लेख्ने सन्तोष सापकोटालाई धेरैले ‘सामाजिक सञ्जाल म्यानेजर’का रूपमा चिन्ने गर्दछन् । फरक पेसामा आबद्ध भएर पनि सामाजिक यथार्थलाई यति नजिकबाट केलाएर शब्दमा उतार्न सक्नु उनको लेखनको विशेषता हो ।
गीतको मर्मलाई म्युजिक भिडियोले सशक्त रूपमा प्रस्तुत गरेको छ । दिपा सिम्खडा र विशाल घिमिरेले तयार पारेको कथामा आधारित भिडियोले वैदेशिक रोजगारीको कहालीलाग्दो वास्तविकता देखाएको छ ।
देशमा रोजगारीको अभाव हुँदा सुन्दर सपना बोकेर खाडी लगायतका देशमा जाने र अन्त्यमा कफिनमा फर्किनुपर्ने नेपाली युवाहरूको पीडालाई भिडियोले केन्द्रमा राखेको छ । विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन कुसुम भण्डारी र शिवु पाण्डेको मुख्य अभिनय रहेको छ । उनीहरुको अभिनयले गीतको कथालाई न्याय गरेको छ । भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहले गरेका छन् ।
भिडियोमा मुख्य कलाकारका अलावा राजेन्द्र अर्याल, सविन डोटेल, श्रीधर अधिकारी र स्वयं गीतकार सन्तोष सापकोटाको पनि अभिनय देख्न सकिन्छ । सार्वजनिक भएसँगै ‘झलिको’ ले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसले हरेक नेपालीको घर-घरको कथा बोकेको भन्दै धेरैले गीतको प्रशंसा गरेका छन् ।





