Home Login
प्रवास

खेम सेन्चुरी र ओबी रायमाझी डिसेम्बर १ देखि सांगीतिक कार्यक्रमको लागि युरोप आउँदै

माल्टा — चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझीले आफ्नो सांगीतिक प्रस्तुति युरोपसम्म विस्तार गर्ने भएका छन् । ‘हाम्रो संस्कृति हाम्रो शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘रमाइलो युरोप टुर’ मार्फत उनीहरूले युरोपमा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् ।

‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना गर्न लागेको यो सांगीतिक टुर डिसेम्बर १ देखि ३१ डिसेम्बरसम्म एक महिना लामो चल्नेछ । सार्वजनिक गरिएको जानकारी अनुसार, यस टुरमा गायक सेन्चुरीले आफ्ना सुपरहिट गीतहरू गाउनेछन् भने मोडल रायमाझीले आफ्नो दमदार नृत्य प्रस्तुत गर्नेछन् ।

आयोजकले सार्वजनिक गरेको ब्यानर अनुसार युरोपका विभिन्न देशहरूमा कार्यक्रमको मिति तय भइसकेको छ । हालसम्म डिसेम्बर २० तारिख पोर्चुगलको राजधानी लिस्बनमा, डिसेम्बर २१  तारिख फ्रान्समा, डिसेम्बर २२ तारिख नर्वेमा, डिसेम्बर २४ तारिख चेक रिपब्लिकमा र डिसेम्बर २७ तारिख माल्टामा कार्यक्रम तयार भइसकेको छ । आयोजक ‘बीबी इभेन्ट’ का सञ्चालक प्रकाश भण्डारीका अनुसार युरोपका अन्य देशहरूमा पनि कार्यक्रमको मिति तय हुने क्रममा रहेको छ ।

गायक खेम सेन्चुरी, जो ‘द भ्वाइस अफ नेपाल सिजन ७’ का कोच समेत हुन्, पछिल्लो समयका सर्वाधिक व्यस्त गायक मानिन्छन् । उनका ‘सोचेझैँ जिन्दगी रैनछ’, ‘सुर्ती माड्दै’, र ‘कामी दाइको छोरो’ जस्ता गीतहरूले युट्युबमा करोडौं भ्युज बटुलेका छन् । अर्कोतर्फ, म्युजिक भिडियो र स्टेज कार्यक्रमहरूमा आफ्नो ऊर्जावान् नृत्यका कारण छुट्टै पहिचान बनाएका मोडल ओबी रायमाझीको सहभागिताले यो टुरलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ । गीत र नृत्यको यो संयोजनले युरोपमा रहेका नेपालीहरूलाई भरपुर मनोरञ्जन दिने विश्वास लिइएको छ ।

‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौँ’ भन्ने उद्देश्यले स्थापना भएको ‘बीबी इभेन्ट’ ले युरोपमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना बनाएको छ ।

गायक सेन्चुरीले युरोपमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई हौसला बढाइदिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा यो खबर बाहिरिएसँगै युरोपबासी नेपालीहरूले खुसी व्यक्त गर्दै कार्यक्रमको प्रतीक्षामा रहेको बताएका छन् ।

उक्त ‘रमाइलो युरोप टुर’ सांगीतिक कार्यक्रमका लागि युरोपबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘युरोपाटी डट.कम’ ले मिडिया पार्टनरको भूमिका निर्वाह गरेको छ ।

आयोजकले युरोपका अन्य सहरहरूमा पनि कार्यक्रम गर्न चाहने इच्छुक व्यक्ति वा संघ-संस्थाहरूलाई सिधै सम्पर्क गर्न आह्वान गरेको छ । थप जानकारीका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ :

रेम्स खनाल : +356-77396787
प्रकाश भण्डारी : +356-77722254

Leave a Reply