बेलायत — बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ । बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ ।
पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ । यी देशहरूले आप्रवासी फिर्ता प्रक्रियामा सहयोग नगरेको र आवश्यक कागजात समयमै नपठाएको त्यहाँको गृहमन्त्रालयको आरोप छ ।
अहिले युकेमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण, फिर्ता प्रक्रियामा चाँडो सुधार गर्न सरकार दबाब बढाइरहेको बताइएको छ ।
भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको आरोप छ, र आगामी वर्ष यस्तो प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ ।
जुन २०२५ सम्मको एक वर्षमा ५ हजार ४ सय ७५ भारतीयले युकेमा आश्रय दाबी गरेका थिए, जसमा ३ सय ४६ जना साना डुङ्गाबाट अवैध रूपमा पुगेका थिए ।





