Home Login
खेलकुद

‘नेप फ्याम एफसी’ ले जित्यो ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप’ को उपाधि

साओ टियोटोनियो, पोर्चुगल —  “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना भएको ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप–२०२५’ को उपाधि ‘नेप फ्याम एफसी’ ले हात पारेको छ ।

आइतबार (२३ नोभेम्बर २०२५) सम्पन्न खुल्ला सेभेन ए साइड नेपाली फुटबल प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा बुद्ध एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेप फ्याम एफसी च्याम्पियन बनेको हो । यस प्रतियोगितामा विभिन्न स्थानका १४ शसक्त टिमहरूको सहभागिता रहेको थियो ।

उपाधिका लागि भिडेका दुई बलिया टोलीहरू नेप फ्याम एफसी र बुद्ध एफसीबीचको निर्धारित समयको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि निर्धारित समयमा कुनै गोल हुन सकेन र खेल ०–० को बराबरीमा सकियो ।

खेलको निर्णय लिन पेनाल्टी सुटआउटको सहारा लिइएको थियो । सुरुवाती पेनाल्टी सुटआउटमा पनि दुवै टोलीबाट २–२ गोल भएपछि खेलको नतिजा ‘सडन डेथ’ तर्फ धकेलियो ।

सडन डेथमा नेप फ्याम एफसीका गोलकिपर हिमाल गुरुङ नायक साबित भए । उनले बुद्ध एफसीको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै टोलीलाई जितको नजिक पुर्याए । अन्त्यमा, नेप फ्यामका खेलाडी निर्दोष हमालले निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए । “हामी एक परिवार हौं” भन्ने भावना बोकेको नेप फ्याम एफसीले यो जितसँगै दर्शकहरूको मन जित्न सफल भयो । बुद्ध एफसीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि उपविजेता मा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा व्यक्तिगत विधादर्फ पनि नेप फ्याम एफसीकै खेलाडीहरूको वर्चस्व रह्यो । सर्वोत्कृष्ट खेलाडी आवास लामिछाने गुरुङ र सर्वोत्कृष्ट गोलकिपर हिमाल गुरुङ (फाइनल खेलका नायक) भए ।

प्रवासमा रहेका नेपालीहरूबीच भाइचारा र एकता कायम गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आयोजकले १४ वटा टिमको उत्साहजनक सहभागिताले “फुटबलद्वारा एकताबद्ध” हुने सन्देशलाई सार्थक तुल्याएको बताएका छन् ।

Leave a Reply