पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो ।
बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो । संसदमा भएको अन्तिम मतदानको समीकरण यस प्रकार रह्यो ।
सरकारको नेतृत्व गरिरहेका गठबन्धन दलहरू PSD र CDS-PP का सांसदहरूले बजेटको पक्षमा मतदान गरे । प्रमुख प्रतिपक्षी दल PS ले बजेटको पक्षमा मतदान नगरे पनि विपक्षमा भोट हालेन । PS को यो ‘तटस्थ’ भूमिका नै बजेट पारित गराउन निर्णायक बन्यो । संसदका अन्य साना तथा ठूला दलहरूले भने बजेटको विपक्षमा मतदान गरे। जसमा Chega, IL (Liberal Initiative), Livre, PCP (Communist Party), BE (Left Bloc), PAN र JPP समावेश छन् ।
सभामुखले बजेट पारित भएको घोषणा गर्नासाथ संसद भवनको माहोल उत्साहजनक बनेको थियो । नतिजा घोषणा लगत्तै सत्तारुढ दल PSD र CDS-PP का सांसदहरूले आफ्नो सिटबाट उठेर ताली बजाउँदै खुसी व्यक्त गरे । यो प्रधानमन्त्री लुइस मोन्टेनेग्रोका लागि ठूलो राजनीतिक जित मानिएको छ ।
यो बजेट पारित हुनुलाई पोर्चुगलको राजनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ । १. सरकारको स्थिरता : अल्पमतमा रहेको लुइस मोन्टेनेग्रोको सरकारका लागि यो दोस्रो बजेट थियो । विपक्षीहरूको घेराबन्दीका बाबजुद लगातार दोस्रो पटक बजेट पास हुनुले सरकारको आयु लम्बिने र राजनीतिक स्थिरता कायम रहने संकेत गरेको छ । २. PS को रणनीतिक कदम : प्रमुख प्रतिपक्षी दल PS ले बजेटको विरोध गरेर सरकार ढाल्नुको साटो जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै तटस्थ बस्ने निर्णय गर्यो। यसले मुलुकलाई तत्कालै अर्को चुनावमा जानबाट रोकेको छ । ३. विपक्षीको एकता : दक्षिणपन्थी दल Chega र उदारवादी IL देखि वामपन्थी दलहरू (BE, PCP) सम्मले बजेटको विपक्षमा मत हालेर सरकारका नीतिहरूप्रति आफ्नो असहमति स्पष्ट रूपमा दर्ज गराएका छन् ।
संसदबाट पारित भएसँगै अब यो बजेट प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रपतिको स्वीकृतिपछि सन् २०२६ को जनवरी १ देखि यो नयाँ बजेट कार्यान्वयनमा आउनेछ । यसले पोर्चुगलको कर प्रणाली, सामाजिक सुरक्षा, तलब वृद्धि र सार्वजनिक लगानीका क्षेत्रमा नयाँ व्यवस्थाहरू लागू गर्नेछ ।





