पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणार्थी मामिला हेर्ने निकाय (एआईएमए) ले सेवाग्राहीहरूको सहजताका लागि एउटा महत्वपूर्ण कदम चालेको छ । अबदेखि आवास अनुमति (रेसिडेन्सी कार्ड) वा यसको नवीकरणका लागि दिइएको आवेदन स्वीकृत भएको प्रमाण पत्र लिनका लागि कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । एइमाले यस्तो प्रमाण पत्र अब पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने व्यवस्था मिलाएको छ, जसले आप्रवासीहरूको प्रशासनिक कामकारबाहीलाई निकै सरल बनाउने अपेक्षा गरिएको छ ।
यो नयाँ व्यवस्था अनुसार, सेवाग्राहीहरूले एइमाको आधिकारिक पोर्टलमा गएर आफ्नो ‘युजर एरिया’ वा व्यक्तिगत खातामार्फत यो प्रमाण पत्र प्राप्त गर्न सक्नेछन् । यो प्रमाण पत्र व्यक्तिगत रूपमा जारी नगरिने र केवल डिजिटल माध्यमबाट उपलब्ध हुने हुनाले, यसकै लागि भनेर सेवा केन्द्रहरूमा लामो लाइन बस्नुपर्ने वा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट अब अन्त्य भएको छ । यसले सेवाग्राहीको समय बचत गर्नुका साथै कार्यालयमा हुने भिडभाड कम गर्न पनि मद्दत पुग्नेछ ।
यहाँ ध्यान दिनुपर्ने मुख्य कुरा के छ भने, अनलाइनबाट प्राप्त गरिने यो विवरण पत्रले कानुनी रूपमा अनिवार्य मानिने सक्कली आवास अनुमति पत्र (फिजिकल कार्ड) लाई भने प्रतिस्थापन गर्ने छैन । यद्यपि, जसको आवेदन प्रक्रिया पूरा भई स्वीकृत भइसकेको छ तर भौतिक कार्ड हात पर्न बाँकी छ, उनीहरूका लागि यो कागजातले ठूलो सुरक्षा र कानुनी आधार प्रदान गर्नेछ ।
प्रशासनिक प्रक्रिया संहिताको धारा ८२ बमोजिम जारी गरिने यो जानकारीले कार्ड धारकले पाउने अधिकार र उनीहरूको कानुनी स्थितिलाई पुष्टि गर्न मद्दत पुर्याउँछ, जसले गर्दा कार्ड पर्खिरहेकाहरूले पनि ढुक्क भएर आफ्ना कामहरू अगाडि बढाउन सक्नेछन् ।
कागजातको सुरक्षा र विश्वसनीयतालाई ध्यानमा राख्दै, सम्भावित ठगी, जालसाजी वा नक्कली कागजातको प्रयोगलाई रोक्न एइमाले यसमा विशेष प्रविधि अपनाएको छ । यो प्रमाण पत्रको आधिकारिकता र स्वामित्व पुष्टि गर्नका लागि यसमा ‘क्युआर कोड’ को व्यवस्था गरिएको छ । यसको अर्थ, यो प्रमाण पत्र जहाँ प्रस्तुत गरिन्छ, सम्बन्धित अधिकारी वा निकायले उक्त कोड स्क्यान गरेर त्यो कागजात सक्कली हो वा होइन तथा त्यो कागजात बोक्ने व्यक्ति वास्तविक हकदार हो वा होइन भन्ने कुरा तत्कालै यकिन गर्न सक्नेछन् । यो प्रणालीले प्रक्रियालाई पारदर्शी र सुरक्षित बनाएको छ ।





