(अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्वनमा हुँदै।)
पोर्चुगल — सन् २०२३ मा इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सुरुवात गरेको थियो। पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएपश्चात अब दोस्रो सिजन आउने भएको छ।
नेपाल भित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरबमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजनाको भएको हो ।
सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएपछि अब दोस्रो सिजनको लागि आयोजक प्रतियोगिता छनोट गर्नको लागि विभिन्न देशहरूमा आउने भएका छन्।
अमेरिका, क्यानडा, बेलायत,पोर्चुगल, हङकङ र जापानमा समेत अडिसन हुने भएको हो । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्की स्थित पोखरमा समेत अडिसन हुने भएको आयोजकले जनाएको छ।
युरोपेली मुलुक पोर्चुगलमा भने फेब्रुअरी १५ र १६ तारिख रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन हुने भएको हो।पोर्चुगलमा उक्त कार्यक्रमको लागि संयोजक देवी गर्बुजा मगरलले गरेका हुन् भने उनी पहिलो सिजन मेरो डान्स युनिभर्सको प्रतिस्पर्धी समेत हुन्।
रोजगारी तथा अध्ययनका लागि युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूले उक्त रियालिटी शोमा सहभागिता जनाउन पाउने भएका हुन्।
नेपाली सांस्कृतिक एकताको अभियान भन्ने मूल नाराका साथ उक्त दुई रियालिटी शोहरु हुन गइरहेको हो।
संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले गर्दा अब दोस्रो सिजन आउने भएको हो।
(उक्त कार्यक्रमको लागि ब्यानरमा देखाइएको देवी गर्बुजा मगरलाई सम्पर्क समेत गर्न सक्नुहुनेछ।)
उक्त दुई रियालिटी शोका जजहरू —
मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज)को भूमिकामा छन्।
यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर बि.सी, किरण थापा छन्।
मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्नेछिन्।
दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन्, जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोख्रेल र नम्रता श्रेष्ठ समेत छिन्।
अडिसन हुने स्थान —
दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिने भएको छ।
सहभागी हुन चाहने प्रतिष्पर्धीले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौं लगिने छ। भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने छन्।
नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ ।
उक्त रियालिटी शोमा आबद्ध हुन कस्तो प्रक्रियाहरू छन् ?
दुबै शोका विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ। यो प्रतियोगितामा सहभागी हुनका लागि सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य छ। प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने छ।
गैर नेपाली भाषीलाई यो प्रतियोगितामा समावेश गरिने छैन। दुबै प्रतियोगिताका लागि प्रतियोगीको न्युनतम उमेर १८ बर्ष पूरा भएको हुनुपर्ने छ। नेपालका लागि १६ बर्ष उमेर पुगेको ब्यक्ति सहभागी हुन पाउने छन्।
अडिसनको समयमा अडिसन स्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने छ ।आधिकारिकताको परीक्षण अडिसन स्थलमै हुने छ।