पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो।
दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजातहरु र पेरिसबाट प्राप्त राहदानीहरु लिस्बनस्थित अस्थायी कार्यालयबाट दिउँसो २ देखि ५ बजेसम्म वितरण गरिने भएको छ।
त्यस्तै, पोर्चुगलमा पहिलोपटक स्थापना हुन गइरहेको नेपाली राजदूतावासले कन्सुलर सेवा सञ्चालन गर्नु अघि पोर्चुगलको स्थानीय कानुन अनुसार पूरा गर्नुपर्ने आवश्यक प्रक्रियाहरु पूरा गरी छिटै कन्सुलर सेवा सञ्चालन गर्ने समेत दूतावासले सूचनामा उल्लेख गरेको छ।
पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल कार्यभार सम्हाल्नको लागि गत ६ मार्च बिहिबार लिस्बन आइपुगेका थिए।