एलिया लिम्बु (साइप्रस) —
युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय पर्व उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ को आयोजना गरेको छ ।
आइतबार मे ११ तारिखमा लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा हुने कार्यक्रमको प्रचारप्रसार अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए ।
किरात राई यायोक्खा साइप्रसले आयोजना गरेको कार्यक्रममा मौलिक र सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिने भएको हो ।
किराँती संस्कार, संस्कृति र मौलिक खानाका परिकार समेतको अनुभव लिन सकिने गरि व्यवस्था गरिएको कार्यक्रममा किराँती संस्कृति अनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिने भएको आयोजकले बताएको छ ।
आइतबार मे ११ तारिख हुने कार्यक्रममा साइप्रसमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड सांगीतिक प्रस्तुति रहने भएको आयोजकले जनाएको छ ।
अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपको साइप्रस पुगेका नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गर्दै आयोजकले साइप्रसका सबै मुख्य सहरबाट बसको समेत व्यवस्था गरिएको छ ।
संस्था स्थापना कालदेखि नै सक्रिय रहेको किरात राई यायोक्खा साइप्रसले प्रत्येक वर्ष उभौली पर्वको अवसर पारेर कार्यक्रमहरु गर्दै आएको छ ।
आयोजकले उक्त कार्यक्रमका लागि २० युरो टिकटको समेत व्यवस्था गरेको छ । साइप्रसमा रहेका विभिन्न संघसंस्था लगायत नेपालीहरूमा उक्त कार्यक्रममा उपस्थित भएर साकेला मनाउनको लागि समेत अनुरोध गरेको छ ।