बेल्जियम, आन्त्वर्पेन — ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मंच युरोप महादेश समितिको दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा भव्य रूपमा आयोजना हुन लागेको छ। कार्यक्रम बेल्जियमको ऐतिहासिक शहर आन्त्वर्पेनमा सम्पन्न हुने छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव श्री शंकर पोखरेल रहनेछन्। यस्तै, विशेष अतिथिका रूपमा केन्द्रिय सदस्य तथा युरोप–अमेरिका इन्चार्ज श्री घनश्याम पाण्डे र प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री संजय थापाको गरिमामय उपस्थिति रहनेछ।
दुईदिने यस कार्यक्रममा अन्तर्राष्ट्रिय समिति पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरू, विभागीय प्रमुख एवं सदस्यहरू, साथै युरोप तथा अमेरिका लगायतका देशहरूमा रहेका नेकपा एमाले समर्थकहरू गरी करिब ३०० जनाको सहभागिता रहनेछ।
प्रवासी नेपाली मंच युरोप महादेश समितिका संयोजक मुक्त गुरुङ र सचिव शालिक थपलियाको संयुक्त नेतृत्वमा कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढाइएको छ।
सचिव थपलियाले जानकारी दिँदै भन्नुभयो, “कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सहभागिताको उत्साहजनक उपस्थिति, सशक्त व्यवस्थापन, र स्पष्ट उद्देश्यले यो कार्यक्रम ऐतिहासिक र अत्यन्त भव्य हुनेमा हामी पूर्ण विश्वासका साथ अगाडि बढिरहेका छौं।”
कार्यक्रमको मूल उद्देश्य प्रवासी नेपालीहरूबीच संगठनात्मक सुदृढीकरण, राजनीतिक प्रशिक्षण, आपसी समन्वय, तथा ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई अझ प्रभावकारी बनाउँदै संस्थागत एकतालाई नयाँ उचाइमा पु-याउनु रहेको छ।