पोर्चुगल — आउँदै गरेको हरितालिका तीजको अवसरमा पोर्चुगलमा बसोबास गर्ने लमजुङवासीहरूले एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । लमजुङ्गे चेलीबेटीहरूलाई दर खुवाउने तथा विशेष सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आफ्नो मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहनुहुने सम्पूर्ण लमजुङवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।
आयोजकहरूले एक सूचना जारी गर्दै अन्य संघसंस्थाहरूको कार्यक्रम आइतबार परेकाले सबैलाई सहज होस् भनेर विशेष परिस्थितिवश कार्यक्रम शनिबार आयोजना गर्नुपरेको जानकारी दिएका छन् । यसले गर्दा धेरैभन्दा धेरैको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
लमजुङ समाज पोर्चुगलको आयोजनामा हुने उक्त कार्यक्रममा पोर्चुगलमा रहनुभएका स्थानीय कलाकारहरू अनु गुरुङ, सूर्यमान गुरुङ र कला पंगेनीले सांगीतिक प्रस्तुति समेत दिने भएका हुन् । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लभ लिस्बन रेस्टुरेन्टमा हुने भएको हो । अगष्ट २३ तारिख शनिवार हुने कार्यक्रम बेलुका ५ : ३० बजेबाट सुरु हुने भएको हो ।
यस कार्यक्रमले पोर्चुगलमा रहेका लमजुङ्गेहरूबीच आपसी भाइचारा र सद्भाव बढाउन मद्दत पुग्ने विश्वास समेत आयोजकले लिएको छ ।