लिस्बन, पोर्चुगल — पोर्चुगलमा मनाइने ‘अजम्प्सन अफ मेरी’ (Assumption of Mary) पर्वको अवसरमा यही आउँदो मिति २०८२ साल साउन ३० गते शुक्रबार, तदनुसार १५ अगस्ट २०२५ का दिन लिस्बनस्थित नेपाली दूतावास बन्द रहने भएको छ । दूतावासले बुधबार एक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा परेकाले राजदूतावासका कन्सुलर सेवा लगायत अन्य सबै कामकारबाही बन्द रहने जानकारी गराएको हो ।
पोर्चुगल एक क्याथोलिक बाहुल्य देश भएकाले हरेक वर्ष अगस्ट १५ तारिखमा ‘अजम्प्सन अफ मेरी’लाई विशेष महत्वका साथ सार्वजनिक बिदा दिएर मनाइन्छ । यसै सन्दर्भमा नेपाली दूतावासले पनि आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । तसर्थ, सेवाग्राहीहरूले सोमबार, १८ अगस्ट २०२५ देखि मात्र नियमित सेवा सुचारु हुने कुरालाई ध्यानमा राख्नुपर्नेछ ।
के हो ‘अजम्प्सन अफ मेरी’ पर्व र किन मनाइन्छ ?
‘अजम्प्सन अफ मेरी’ क्याथोलिक इसाई धर्मावलम्बीहरूको एक महत्वपूर्ण चाड हो । यो पर्व येशु ख्रीष्टकी माता मरियम (मेरी) को सम्मानमा मनाइन्छ । इसाई धर्मग्रन्थ अनुसार, पृथ्वीमा आफ्नो जीवनकाल पूरा गरेपछि मरियमलाई स्वर्गमा सशरीर लगिएको थियो भन्ने विश्वास गरिन्छ । यही घटनालाई ‘अजम्प्सन’ अर्थात् ‘स्वर्गारोहण’ भनिन्छ ।
क्याथोलिक सिद्धान्तअनुसार, मरियमलाई ईश्वरले विशेष कृपा प्रदान गरेका थिए र उनी पापबाट मुक्त थिइन् । त्यसैले उनको मृत्युपछि अन्य मानिसको जस्तो शरीर नष्ट नभई आत्मा र शरीरसहित स्वर्गमा प्रवेश गराइयो भन्ने मान्यता छ । पोप पायस बाह्रौंले सन् १९५० मा यसलाई क्याथोलिक चर्चको एक आधिकारिक सिद्धान्तको रूपमा घोषणा गरेका थिए ।
यो दिनलाई ‘मरियमको स्वर्गारोहण दिवस’ पनि भनिन्छ र विश्वभरका क्याथोलिक समुदायले प्रार्थना, जुलुस र विशेष धार्मिक कार्यक्रमहरू आयोजना गरी मनाउँछन् ।
पोर्चुगल, स्पेन, इटाली, फ्रान्स जस्ता युरोपेली देशहरूमा यस दिन सार्वजनिक बिदा दिइन्छ र मानिसहरूले चर्चमा गएर मरियमप्रति श्रद्धा र सम्मान व्यक्त गर्दछन् । यो पर्व विश्वास, आशा र मानव जीवनको अन्तिम गन्तव्य स्वर्ग हो भन्ने सन्देशको प्रतीकको रूपमा लिइन्छ ।
हेर्नुहोस्।लिस्बनस्थित नेपाली दूतावास सार्वजनिक गरेको नोटिस :