Home Login
राजनीति

नेपालमा ‘जेन-जी’ आन्दोलनमा सरकारी दमनको युरोपबाट भर्त्सना

काठमाडौँ —  नेपाली जनप्रगतिशील मञ्च, युरोपले काठमाडौँ लगायत देशका विभिन्न भागमा “जेन-जी” (नव युवा पुस्ता) द्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले गरेको दमनको कडा शब्दमा निन्दा गरेको छ । मञ्चले आज, ८ सेप्टेम्बर २०२५, आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको दमनलाई “बर्बरतापूर्ण” भन्दै यसको घोर भर्त्सना गरेको हो ।

विज्ञप्तिअनुसार, यो आन्दोलन देशमा व्याप्त भ्रष्टाचार, कुशासन (व्यथिति), र हालै सरकारले लगाएको भनिएको सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध केन्द्रित थियो । शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न भेला भएका प्रदर्शनकारीमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको मञ्चको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ : “आज ८-सेप्टेम्बर, २०२५ आइतबारका दिनदेखि भ्रष्टाचार, व्यथिति तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध शुरु भएको ‘जेन-जी’ (नव युवा पुस्ता) द्वारा आयोजित आन्दोलनको क्रममा नेपाल सरकारको बर्बरतापूर्ण दमनको घोर भर्त्सना गर्दछौँ ।”

मञ्चले आन्दोलनका क्रममा केही प्रदर्शनकारीको मृत्यु भएको दाबी गर्दै उनीहरुलाई “योद्धा” को संज्ञा दिएको छ । विज्ञप्तिमा भनिएको छ, “आज भएको आन्दोलनको क्रममा सरकारद्वारा हत्या गरिएका योद्धाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्न र गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौं ।”

Leave a Reply