हेलसिन्की, फिनल्यान्ड — नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा बसोबास गर्ने नेपालीहरूले बुधबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् । हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडिको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ५ सय भन्दा बढी नेपालीहरूको भावपूर्ण उपस्थिति रहेको थियो ।
नेपालमा ‘जेनजी’ को आयोजित एक विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा यो कार्यक्रम आयोजना गरिएको हो । विदेशमा रहे पनि आफ्नो मातृभूमिमा घटेको अप्रिय घटनाले मर्माहत भएको भन्दै फिनल्यान्डवासी नेपालीहरू स्वतःस्फूर्त रूपमा भेला भएका थिए ।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरेका थिए । मैनबत्तीको प्रकाशले चर्चको प्राङ्गण उज्यालो बनेको थियो भने वातावरण निकै गम्भीर र भावुक देखिन्थ्यो । उपस्थित सबैले एक मिनेट मौन धारण गरी मृतकहरूप्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभामा सहभागीहरूले शोक मात्र प्रकट गरेनन्, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न नेपाल सरकारसमक्ष जोडदार मागसमेत गरेका छन् ।
उनीहरूले ‘नेपालीको जीवन अमूल्य छ’, ‘न्याय र उत्तरदायित्व सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए । एक सहभागीले भने, ‘हामी यहाँ हजारौं किलोमिटर टाढा भए पनि हाम्रो मन नेपालमै छ । आफ्नै दाजुभाइ दिदीबहिनीले अकालमा ज्यान गुमाउँदा हामी चुप लागेर बस्न सक्दैनौं । यो घटनाले हामीलाई स्तब्ध बनाएको छ र हामी पीडित परिवारको साथमा छौं ।’
यो कार्यक्रमले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू आफ्नो मातृभूमिको पीडामा एकसाथ उभिन्छन् भन्ने बलियो सन्देश दिएको छ । हेलसिन्कीको चिसो मौसमका बाबजुद बाक्लो संख्यामा उपस्थित भएर नेपालीहरूले देखाएको एकता र ऐक्यबद्धताले सबैलाई भावुक बनाएको थियो । कार्यक्रमले शोकलाई शक्तिमा बदल्दै न्यायका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत आवाज उठाउनुपर्नेमा जोड दिएको छ ।