Home Login
पोर्चुगल

पोर्चुगलमा खाना बनाउने विवादमा नेपालीद्वारा पोर्चुगिज नागरिकको हत्या

पोर्चुगल (लिस्बन)  पोर्चुगलको कार्तासो शहरमा एक नेपाली नागरिकले सँगै बस्ने पोर्चुगिज नागरिकको छुरा प्रहार गरी हत्या गरेका छन् । खाना बनाउने विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा ३८ वर्षीय नेपाली पुरुषले ३० वर्षीय स्थानीय पोर्चुगिज युवाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना गत सोमबारको हो । एउटै घरमा बस्दै आएका उनीहरूबीच खाना बनाउने विषयमा विवाद चर्किएको थियो । सोही क्रममा आक्रोशित बनेका नेपाली पुरुषले साथीको घाँटीमा छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्या गरेलगत्तै ती नेपाली नागरिक फरार भएका छन् र स्थानीय प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले हालसम्म फरार अभियुक्तको नाम भने सार्वजनिक गरेको छैन, तर उनी नेपाली भएको पुष्टि गरेको छ ।

यो घटनाले पोर्चुगलमा रहेको नेपाली तथा अन्य आप्रवासी समुदायमा चिन्ता छाएको छ । मानवअधिकार र सुरक्षाका मामिलामा निकै संवेदनशील मानिने युरोपेली मुलुक पोर्चुगलमा भएको यो जघन्य अपराधले आप्रवासी नीतिमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ । सामान्य विवादमा भएको हत्याले सरकारलाई आप्रवासीप्रति थप कठोर नीति लिन दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र फरार अभियुक्तको खोजीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply