Home Login
स्वास्थ्य

बसेरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न, भोलि बुढाथुममा हुँदै

अमित भट्ट ।
धादिङ — गङ्गा जमुना गाउँपालिका–६ अन्तर्गतको बसेरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय फुलखर्क कल्याणकारी समाजको आयोजनामा र आई क्याम्प फर चितवन तथा सपोर्ट एण्ड केयर रिहाबिलिटेशन सेन्टरको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।

बसेरीमा सम्पन्न पहिलो चरणको शिविरमा करिब ३ सय जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् भने २४ जनालाई मोतिबिन्दु शल्यक्रियाका लागि रिफर गरिएको छ । शिविरमा निःशुल्क औषधि, चस्मा तथा सर्जिकल परामर्श सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य चौकीका सूचना अधिकारी तथा प्रमुख बासुदेव ढकालका अनुसार, शिविर स्थानीयवासीका लागि अत्यन्तै उपयोगी भएको छ । उहाँले भन्नुभयो, “दूरदराजका बासिन्दा आँखा उपचारका लागि टाढा जानु नपर्ने भएकाले यसले सबैलाई राहत पुगेको छ ।”

शिविरको व्यवस्थापनमा सुरक्षा निकायले समेत सहयोग पुर्‍याएको थियो । साथै, कार्यक्रममा वडा अध्यक्ष रमेश ढकालको पनि विशेष उपस्थिति रहेको थियो । उहाँले आफ्ना वडा वासिन्दाहरूसँग सहकार्य गर्दै शिविरलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

सो अवसरमा संस्थाले विद्यालयका विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको थियो । यसैबीच, आयोजक संस्थाका अनुसार भोलि फुलखर्क–बुढाथुममा साथै भोलि गङाजमुना वडा न ३ मा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

Leave a Reply