Home Login
साईप्रस

साइप्रसमा दशैंको टीकाकै दिन नेपाली चेलीद्वारा आत्महत्या

साइप्रस सारा विश्वभरका नेपालीहरू हर्षोल्लासका साथ महान चाड विजयादशमी मनाइरहँदा साइप्रसबाट एक अत्यन्त दुःखद खबर बाहिरिएको छ । साइप्रसको लिमासोल शहरमा कार्यरत एक नेपाली युवतीले दशैंको टीकाकै दिन आत्महत्या गरेकी छिन् । यो अकल्पनीय घटनाले साइप्रसमा रहेको सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ ।

गत अक्टोबर २ तारिख, बिहीबारका दिन, जुन दिन नेपाल तथा विश्वभरका नेपालीहरूले मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै थिए, सोही दिन ती युवतीले आफ्नो प्राण त्याग गरेकी हुन् । पर्वत जिल्ला स्थायी घर भई करिब दुई वर्षअघि उज्ज्वल भविष्यको सपना बोकेर साइप्रस आएकी उनी लिमासोलको एक कम्पनीमा कार्यरत थिइन् ।

स्थानीय प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, बिहीबार साँझ करिब ४:१५ बजे उनलाई आफ्नै कोठामा घाँटीमा डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । घटनाको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो र प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने काम सम्पन्न गरेको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएको छ ।

साइप्रसस्थित नेपाली कन्सुलर कार्यालयले पनि उक्त दुःखद घटनाको पुष्टि गरेको छ । कार्यालयले स्थानीय प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको र घटनाको विस्तृत जानकारीको प्रतीक्षामा रहेको जनाएको छ । यद्यपि, पोष्टमार्टमको रिपोर्ट आइनसकेको र प्रहरीको अनुसन्धान जारी रहेकाले आत्महत्याको कारणबारे कुनै पनि तथ्य बाहिर आएको छैन । उनीसँगै बस्ने साथीहरू र चिनेजानेका मानिसहरू पनि यो घटनाबाट आश्चर्यचकित र दुःखी भएका छन् ।

चाडपर्वको मुखमा, त्यसमाथि पनि दशैंको टीका जस्तो विशेष दिनमा भएको यो घटनाले विदेशमा रहेका नेपालीहरूको मानसिक स्वास्थ्य र उनीहरूले भोग्नुपरेको एक्लोपना, तनाव र दबाब जस्ता गम्भीर विषयहरूलाई फेरि एकपटक सतहमा ल्याएको छ । परिवारबाट टाढा रहेर चाडपर्व मनाउनुपर्दाको पीडा र कामको चापले निम्त्याउन सक्ने मानसिक विचलनबारे यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।

हाल प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धान पूरा भएपछि मात्र घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply