के हो तिहार ?

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोवर्धन पूजा वा गोरुतिहार भनिन्छ । यस दिन गोवर्धन पर्वत र गोरुको पूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो ।

के हो तिहार ?

पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । तिहारको पहिलो दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो तिहार ।

पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस्, दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि छर्लंग पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *