Home Login
रोमानिया

रोमानियामा १८ वर्षीय चालकको ठक्करबाट सलिन आले मगरको घटनास्थलमै मृत्यु

रोमानिया (बुखारेस्ट) — रोजगारी र उज्ज्वल भविष्यको सपना बोकेर युरोपेली मुलुक रोमानिया पुगेका एक नेपाली युवकको शुक्रबार राति राजधानी बुखारेस्टमा भएको सवारी दुर्घटनामा परेर दुखद निधन भएको छ । मृत्यु हुनेमा २५ वर्षीय सलिन आले मगर रहेका छन् । उनी बुखारेस्टमै बसोबास गर्दै आएका थिए । यो घटनाले रोमानियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।

राजधानी ट्राफिक प्रहरी ब्रिगेडका अनुसार दुर्घटना २०२५ नोभेम्बर २१, शुक्रबार राति करिब साढे १० बजे भएको हो ।

बुखारेस्टको सेक्टर–६ स्थित काला जिउलेस्ती सडकमा यो दुर्घटना भएको थियो । प्रहरीका अनुसार, एउटा कार ड्रमुल साबिक तर्फबाट बुलेवार्डुल कन्स्ट्रुक्टोरिलोर दिशामा जाँदै थियो । सोही क्रममा घर नम्बर ३११ नजिकै पैदल हिँडिरहेका सलिनलाई कारले ठक्कर दिएको थियो । ठक्कर यति शक्तिशाली थियो कि सलिन गम्भीर घाइते भए र आपतकालीन सेवा घटनास्थलमा पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका थिए ।

उक्त कार एक १८ वर्षीय रोमानियाली युवकले चलाइरहेका थिए । घटना लगत्तै स्थानीयले आपतकालीन नम्बर ११२ मा खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेर तत्कालै चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, चालकको मादक पदार्थ वा लागुऔषध सेवन परीक्षण गरिए/नगरिएको बारे विस्तृत रिपोर्ट आउन बाँकी छ । चालकमाथि “सवारी ज्यान मुद्दा” अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ । दुर्घटनाको मुख्य कारण तीब्र गति थियो वा पैदल यात्रीको असावधानी भन्ने विषयमा प्रहरीले सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय रोमानियामा नेपाली कामदारहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । सलिन आले मगरको मृत्युले बुखारेस्टमा रहेका नेपालीहरू गहिरो शोकमा परेका छन् ।सलिनको नेपालस्थित घर ठेगाना र परिवारको विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन ।

Leave a Reply