Home Login
प्रवास

दुई हप्तादेखि पोर्चुगलमा प्रतिकूल मौसमको वितण्डा

पोर्चुगल — पोर्चुगलको मुख्य भूमिमा प्रतिकूल मौसमले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । नागरिक सुरक्षाका अनुसार मंगलबार मध्यरातदेखि बुधबार बिहानसम्म मात्रै १ हजार ५ सय ७६ वटा विपद्का घटनाहरू रेकर्ड गरिएका छन् ।

विशेष गरी पोर्टो, कोइम्ब्रा र एभेइरो क्षेत्रमा बाढी, पहिरो र रूखहरू ढल्ने जस्ता घटनाहरू अत्याधिक मात्रामा देखिएका छन् । राहतको कुरा के छ भने, यी घटनाहरूमा कुनै मानवीय हताहतको खबर आएको छैन, यद्यपि भौतिक क्षति र विस्थापनको संख्या उच्च रहेको छ ।

कोइम्ब्रा क्षेत्रमा बाढीको उच्च जोखिमका कारण स्थिति निकै तनावपूर्ण बनेको छ । मोन्डेगो नदीको बहाव अनियन्त्रित भई तटबन्ध भत्किने खतरा बढेपछि नदी किनारका बस्तीहरूबाट तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

पोर्चुगिज वातावरण एजेन्सीले भारी वर्षाको पूर्वानुमानसँगै नदी किनारहरू भत्किन सक्ने चेतावनी दिएपछि यो विशाल उद्धार अपरेशन सञ्चालन गरिएको हो । सुरक्षाका लागि कोइम्ब्रा र पेनाकोभा लगायतका क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएका छन् भने स्थानीय प्रशासनले निरन्तर स्थितिको निगरानी गरिरहेको छ ।

उता अल्माडाको कोस्टा दा कापारिकामा पहिरोका कारण आवासीय भवनहरू जोखिममा परेका छन् । भवन नजिकैको चट्टान खस्दा ३० भन्दा बढी मानिसहरूलाई घरबाट निकाली नगरपालिकाको आश्रयस्थल र आफन्तकोमा सारिएको छ । डोउरो नदीमा पनि पानीको सतह खतराको नजिक पुगेको छ, जसले गर्दा बन्दरगाह प्राधिकरणले उच्च सतर्कता अपनाएको छ । पेसो दा रेगुआमा पानीको सतह १०.७ मिटर पुगेर नदीको किनारसम्म आइपुगेको छ, जसले तल्लो तटीय क्षेत्रहरूमा डुबानको जोखिम बढाएको छ ।

मौसमको यो कहरले यातायात र विद्युत आपूर्तिमा पनि ठूलो अवरोध सिर्जना गरेको छ । देशको रेल नेटवर्क नराम्ररी प्रभावित भएको छ, जहाँ उत्तरी लाइन, बेइरा अल्टा र डोउरो लाइन लगायत धेरै स्थानमा रेल सेवाहरू निलम्बन वा परिवर्तन गरिएका छन् । सडक तर्फ, पहिरोको जोखिमका कारण पेनेलामा आईसी-३ राजमार्ग बन्द गरिएको छ । यसैबीच, मेडियो तेजो क्षेत्रमा आँधी आएको १५ दिन बितिसक्दा पनि हजारौं घर र व्यवसायहरू अझै विद्युतविहीन अवस्थामा छन् ।

स्थानीय मेयरहरूले विद्युत पुनर्स्थापनाको काम सुस्त भएको भन्दै कडा आलोचना गरेका छन् र तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

Leave a Reply