पोर्चुगलको जम्बुजिराद्धारा जाजरकोट भुकम्प पीडितलाई सहयोग

ad1 ad1

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी कामना विष्टको गृह जिल्ला जाजरकोटका भूकम्प पीडितको सहयोगार्थ जम्बुजिरा दो मारले पोर्चुगलमै पहिलोपटक ‘बी’ लेभल (राष्ट्रियस्तरको खेलाडी बाहेक) को प्रतियोगिता आयोजना गरेको, त्यसबाट संकलित रकमसँगै सांस्कृतिक (देउसी–भैलो) कार्यक्रम आयोजना गरि संकलन गरिएको रकम सहयोग गर्न लागिएको बताए ।

सांस्कृतिक कार्यक्रमबाट १ लाख १४ हजार रुपैयाँ संकलन भएको उक्त रकम नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई प्रदान गरिएको संयोजक रानाले बताए ।

संघका अध्यक्ष चन्दले उक्त रकम महिला राष्ट्रिय भलिबल खेलाडी कामना विष्टलाई प्रदान गर्नेछन् ।

‘देश बाहिर रहेपनि भलिबलको नाताले कामना विष्ट (जाजरकोट) को नाममा सहयोग पठाएका छौं ।’

अध्यक्ष रानाले भने, ‘यो सहयोग भूकम्प प्रभावित जाजरकोटको लागि हो । उनी आँफैले राखेपनि अथवा उनैले अन्य प्रभावितलाई प्रदान गर्न सक्नेछन् । भलिबलकै मायाँले र उनी (कामना) पनि प्रभावित भएको थाहा पाएर नै भलिबल प्रतियोगितासँगै देउसी–भैलो कार्यक्रम गरेर रकम संकलन गरेका छौं । सहयोग गर्ने सबैजनालाई धन्यवाद भन्न चहान्छु ।’

पोर्चुगलमा रहेका गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका सह कोषाध्यक्ष तिलक प्रसाद गैरे, जीवन थापा, कलाकार जेवी ओली, खगिसरा न्यौपाने, मेकु घर्ती, सुनिता तामाङ, राम कँडेल, जगन गुरुङ, समर खत्री, पूर्ण बहादुर विश्वकर्मा, कोपिल हर्मेलसँगै विभिन्न संघ संस्था, नेपाली समुदायले सहयोग गरेका छन् ।

नोभेम्भर १२ तारिखमा भएको प्रतियोगिताको फाइनलमा बुझनिक कम्पनीलाई पराजित गर्दै आयोजक खेलकुद बिकास समिति जम्बुजिरा दो मारले उपाधि जित्न सफल भएको थियो । उपाधि विजेता जम्बुजिरा दो मारले ४ सय युरो, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको बुझनिकले २ सय युरोसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सर्वात्कृष्ट खेलाडीले एक थान भलिबल र उत्कृष्ट स्पाइकरलाई ट्रफी प्रदान गरिएको छ । भलिबल र ट्रफी गण्डकी प्रदेशका पूर्व खेलाडी तथा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका योकेन्द्र गुरुङले प्रायोजन गरेको थियो ।

जाजरकोट केन्द्रविन्दु भएर गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसबाट ३४ हजार ५०१ घरधुरीका १ लाख ८० हजार नागरिक प्रभावित, ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *