लिस्बन (पोर्चुगल) — पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ ।
राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो तीन त्रैमासिकको नतिजा सकारात्मक देखिएको हो । यद्यपि, यो अधिशेष गत वर्ष अर्थात् २०२४ को सोही अवधिको तुलनामा भने केही कम हो । सन् २०२४ को सोही अवधिमा यस्तो अधिशेष २.३ प्रतिशत रहेको थियो । समग्रमा राज्यको आम्दानी र खर्चको सन्तुलन सकारात्मक देखिए पनि खर्चको वृद्धि दर राजस्वको तुलनामा केही बढी देखिएको छ ।
जनवरीदेखि सेप्टेम्बरसम्मको संचित अवधिलाई विश्लेषण गर्दा, राज्यको कुल राजस्वमा वार्षिक रूपमा ७ प्रतिशतले वृद्धि भएको छ । यसको ठीक विपरीत, कुल खर्चमा भने ७.७ प्रतिशतले बढोत्तरी भएको पाइएको छ । तथ्याङ्क कार्यालयका अनुसार राजस्व वृद्धिको मुख्य आधारका रूपमा कर राजस्व संकलन, सामाजिक सुरक्षा योगदान र अन्य चालू आम्दानीमा भएको सुधारलाई लिइएको छ । अर्कोतर्फ, सरकारी खर्च बढ्नुमा कर्मचारीहरूको पारिश्रमिक र सामाजिक सुरक्षाका दायित्वहरू मुख्य कारण बनेका छन् ।
तथ्याङ्क अनुसार कर्मचारीको क्षतिपूर्ति वा तलबभत्तामा ८.२ प्रतिशत, सामाजिक लाभ तथा सुविधाहरूमा ७.७ प्रतिशत र मध्यवर्ती उपभोगमा ७.६ प्रतिशतले वृद्धि भएको छ ।
विशेष गरी वर्षको तेस्रो त्रैमासिक अर्थात् जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्याङ्कलाई मात्र छुट्टै हेर्दा स्थिति अझ सबल देखिएको छ । यस तीन महिनाको अवधिमा २ अर्ब ९५ करोड २० लाख युरो (२,९५२ मिलियन युरो) अधिशेष कायम भएको छ, जुन सो अवधिको जीडीपीको ३.८ प्रतिशत हुन आउँछ । गत वर्षको यही सिजनमा यो आँकडा ४.९ प्रतिशत रहेको थियो । तेस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा राजस्व ७.७ प्रतिशतले बढ्दा खर्च भने १०.८ प्रतिशतको उच्च दरले बढेको देखिएको छ, जसले गर्दा गत वर्षको तुलनामा अधिशेषको प्रतिशत केही खुम्चिन पुगेको हो ।





