अध्यागमन विभागले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको ‘डिजिटल ट्रयाकिङ’ का लागि नयाँ प्रणाली सुरु गरेको छ । बिहीबार आयोजित एक समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विधिवत शुभारम्भ गरे ।
यस प्रणालीले नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विभागले गत असोज १ गतेदेखि नै होटल एसोसिएसनसँगको समन्वयमा काठमाडौँका तारे होटलहरूमा यो प्रणाली परीक्षणका रूपमा लागू गरेको थियो ।
कसरी काम गर्छ यो प्रणाली ?
विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि आफू बस्ने होटल जानुअघि आफ्नो विवरण इन्ट्री गर्नुपर्नेछ । विवरण इन्ट्री गरेपछि एउटा क्युआर कोड प्राप्त हुनेछ । सोही कोडका आधारमा सेवा प्रदायक संस्थाहरू (होटल, ट्राभल्स आदि) ले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्नेछ ।
यदि पर्यटकले आफैँ विवरण भरेका छैनन् भने होटलहरूले अनिवार्य रूपमा विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी व्यवस्था मिलाइएको छ ।
यो प्रणाली हाललाई देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्स्चेन्जहरूमा लागू गरिएको छ । विभागले यसलाई क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र निजी संस्थाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यो प्रणालीले व्यक्तिगत सुरक्षा मजबुत बनाउनेछ। विशेषगरी विपद्का समयमा पर्यटकहरूको खोजी तथा उद्धार कार्यमा यसले ठूलो सहयोग पुर्याउनेछ । साथै, अवाञ्छित क्रियाकलापको निगरानी र अपराध अनुसन्धानमा समेत यसले प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।
यस प्रविधिको प्रयोगले नेपाललाई विश्वस्तरमा एक सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।





