Home Login
संघ-संस्था

पोर्चुगलको मदेइरामा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

सुमन अधिकारी ।

मदेइरा (पोर्चुगल) — तामाङ समुदायको मौलिक पहिचान, भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोर्चुगलको पर्यटकीय टापु मदेइरामा ‘मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग)’ को उपलक्ष्यमा सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो परम्परा र पुर्खाको गौरवलाई जीवन्त राख्न मदेइरामा रहेका नेपालीहरू, विशेषगरी तामाङ समुदायले यस वर्षको ल्होछारलाई विशेष उत्सवका रूपमा मनाएका हुन् ।

मदेइराको फुन्चालस्थित ‘चुलो रेस्टुरेन्ट’ मा गत मंगलबार आयोजित उक्त समारोहमा तामाङ समुदायको मौलिकता झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए । कार्यक्रमको सफलताका लागि भूमि बहादुर तामाङ, मनिषा तामाङ, करन गोले, निङमार तामाङ र शम्भु तामाङले विशेष भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरूको कुशल समन्वय र सहजीकरणका कारण कार्यक्रम अत्यन्त सभ्य र व्यवस्थित ढंगले सम्पन्न भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागीहरू तामाङ भेषभूषामा सजिएर आफ्नो जातिको मौलिक नाच र गीतमा झुमेका थिए । सो अवसरमा वक्ताहरूले विदेशी भूमिमा रहेर पनि नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृति हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने ल्होछारले आपसी एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाएको सहभागीहरूको अनुभव थियो ।

स्थानीय नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा तामाङ संस्कृतिसँग सम्बन्धित विभिन्न खानाका परिकार र सांगीतिक माहौलले मदेइरामा एक किसिमको नेपाली उत्सवको झल्को दिएको थियो ।

प्रवासको व्यस्त समयका बाबजुद पनि आफ्नो भाषा र पहिचान संरक्षणमा एकजुट भएर लागेकोमा मदेइराबासी नेपालीहरूले आयोजक टोलीको प्रशंसा गरेका छन् ।

Leave a Reply