इटाली — युरोपेली मुलुक इटालीले आगामी तीन वर्षभित्र १० हजारभन्दा बढी पाकिस्तानी नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गर्ने भएको छ । दुई देशबीच भएको द्विपक्षीय समझदारी अनुसार इटालीले पाकिस्तानका लागि कामदारको निश्चित कोटा नै छुट्याएको हो । यो निर्णयसँगै इटाली पाकिस्तानका लागि विशेष रूपमा रोजगारी कोटा छुट्याउने पहिलो युरोपेली राष्ट्र बनेको छ ।
यस सम्झौता अनुसार कुल १० हजार ५ सय पाकिस्तानी कामदारहरूले इटालीमा रोजगारीको अवसर प्राप्त गर्नेछन् । यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ, जसअन्तर्गत प्रत्येक वर्ष ३ हजार ५ सय कामदारहरूले इटालीको भिसा प्राप्त गर्नेछन् । वार्षिक रूपमा छुट्याइएको यो कोटालाई दुई भागमा वर्गीकरण गरिएको छ, जसमा २ हजार जना गैर-मौसमी र १ हजार ५ सय जना मौसमी कामदारहरू रहनेछन् । यसबाट दक्ष तथा अर्ध-दक्ष दुवै श्रेणीका जागिर आकांक्षीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
रोजगारीका लागि विभिन्न क्षेत्रहरू तोकिएका छन्। विशेष गरी जहाज तोड्ने उद्योग, आतिथ्य सत्कार, स्वास्थ्य सेवा र कृषि क्षेत्रमा जनशक्तिको माग उच्च रहेको छ । कामदारहरूले वेल्डिङ, प्राविधिक भूमिका, सेफ, वेटर, हाउसकीपिङ, नर्सिङ, चिकित्सा प्राविधिक लगायतका विविध पदहरूमा काम गर्ने मौका पाउनेछन् ।
यो सम्झौतालाई दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धको एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा हेरिएको छ । श्रम बजारमा देखिएको यो सहकार्यलाई थप प्रभावकारी बनाउन र भविष्यका योजनाहरू तय गर्न पाकिस्तान-इटाली संयुक्त कार्य समूहको दोस्रो बैठक सन् २०२६ को फेब्रुअरी महिनामा पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना गरिने तय भएको छ ।





