Home Login
नेपाली राजदूतावास लिस्बन

कन्सुलर सेवालाई थप सहज र प्रभावकारी बनाउन पोर्चुगिज अधिकारीसँग विशेष पहल

लिस्बन (पोर्चुगल) —  पोर्चुगलमा रहेका नेपाली समुदायलाई प्रदान गरिने कन्सुलर सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावासले सक्रिय पहल कद्मी अघि बढाएको छ । यसै सन्दर्भमा, राजदूतावासका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलर श्री शत्रुध्वन पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गत जनवरी ०७, २०२६ का दिन सम्पन्न उक्त भेटमा मिनिष्टर काउन्सेलर पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर मामिला विभाग (Consular Affairs Department) का निर्देशक मिस्टर पेड्रो मोन्टेरो (Mr. Pedro Monteiro) सँग द्विपक्षीय छलफल गर्नुभएको थियो । भेटको मुख्य एजेन्डा नेपाली राजदूतावासबाट प्रवाह हुने सेवाहरूलाई पोर्चुगल सरकारका विभिन्न निकायहरूसँगको समन्वयमा कसरी अझ चुस्तदुरुस्त बनाउने भन्नेमा केन्द्रित थियो ।

विशेषगरी, कागजात प्रमाणीकरण (Document Verification) जस्तो अत्यावश्यक सेवालाई लिएर दुई पक्षबीच गम्भीर विचारविमर्श भएको थियो । पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूका लागि कागजात प्रमाणीकरण एक महत्त्वपूर्ण प्रक्रिया हो, जसलाई थप सहजीकरण गर्न सके सेवाग्राहीले ठूलो राहत महसुस गर्नेछन् । यस भेटले पोर्चुगल सरकारका सम्बन्धित निकायहरूसँगको समन्वयलाई मजबुत बनाउँदै भविष्यमा आइपर्ने कन्सुलर समस्याहरूलाई छिटो र सरल ढंगले समाधान गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ ।

उक्त महत्त्वपूर्ण छलफलमा नेपाली राजदूतावासका तर्फबाट प्रथम सचिव श्री रामबाबु नेपालको समेत उपस्थिति रहेको थियो । पोर्चुगलमा बढ्दो नेपाली आप्रवासीहरूको संख्यासँगै कन्सुलर सेवाको माग पनि बढिरहेको परिप्रेक्ष्यमा, दूतावासले स्थानीय परराष्ट्र मन्त्रालयसँग गरेको यो समन्वय र तत्परतालाई निकै सकारात्मक रूपमा हेरिएको छ ।

Leave a Reply