Home Login
साईप्रस

परदेशमा पसिना बगाउन पुगेकी नुवाकोटकी अनिताको जीवन–मरणको संघर्ष

निकोसिया — गरिबीको अन्धकार चिरेर परिवारको भविष्य उज्यालो बनाउने सपना बोकी परदेशिएकी नुवाकोटकी अनिता तामाङ अहिले जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी छिन् ।

नुवाकोटको सामान्य परिवारमा जन्मिएकी अनिताको जीवन कहिल्यै सहज रहेन, तर उनले हार मानिनन् । आर्थिक अभाव, ऋणको बोझ र दैनिक गुजारा चलाउन धौ–धौ पर्न थालेपछि उनले एउटा कठोर निर्णय लिइन्– परदेश जाने । यही सपना बोकेर सन् २०२२ को जुलाईमा उनी साइप्रस पुगेकी थिइन् ।

घरेलु कामदारको रूपमा साइप्रसको भूमिमा पाइला टेक्दा उनले सोचेकी थिइन् कि अब दुखका दिन सकिए । सुरुवाती १४ महिना सबै ठिकठाक चल्यो । उनी परिवारको खुसीका लागि पसिना बगाउँदै थिइन् । तर, नियतिलाई सायद यो खुसी मन्जुर थिएन । काम गरिरहँदा अचानक उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्यो । लगातार दुई हप्तासम्म दिसा रोकिएपछि रगतको बान्ता हुन थाल्यो । अवस्था नाजुक भएपछि डाक्टरले घरमै आएर जाँच गरे र तत्कालै लिमासोल जनरल अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियो ।

त्यही दिन अनिताको जीवनमा अर्को बज्रपात भयो । परीक्षण गर्दा उनको ठूलो आन्द्रामा क्यान्सर भएको पुष्टि भयो । यो खबरले परदेशमा एक्लै संघर्ष गरिरहेकी अनितालाई छाँगाबाट खसेजस्तै बनायो । डाक्टरहरूले एक मिनेट पनि ढिला नगरी भोलिपल्टै उनको अपरेशन गरेर क्यान्सर भएको आन्द्रा काटेर फालिदिए। अपरेशनपछि पनि उनको संघर्ष सकिएन । एक वर्षसम्म घरमै बसेर उपचार गराइन्, छ पटकसम्म किमोथेरापीको पीडा सहिन् । शरीर गल्यो, तर मनमा बाँच्ने आशा मरेन ।

एक वर्षको निरन्तर उपचारपछि डाक्टरले क्यान्सर निको भएको र सामान्य काममा फर्कन सक्ने रिपोर्ट दिएपछि अनितामा खुसीको सञ्चार भयो । नेपाल फर्किन चाहे बाटो खुला थियो, तर ऋण र जिम्मेवारीले थिचिएकी अनिताले फेरि काम गर्ने आँट गरिन् । उनी नयाँ जोसका साथ पारालिम्नी पुगेर काम सुरु गरिन् । तर, दैवको लीला अर्कै थियो । काम थालेको चार महिना नबित्दै फेरि पेटमा असह्य पीडा सुरु भयो ।

अवस्था बिग्रँदै गएपछि उनलाई पुनः लिमासोल जनरल अस्पताल रिफर गरियो । त्यहाँको रिपोर्ट सुन्दा अनिता र उनका शुभचिन्तकहरूको होस उड्यो । क्यान्सर चौथो चरण (Stage 4) मा पुगिसकेको थियो । रोगले शरीरका सीमाना नाघिसकेको थियो। पचाउने आन्द्रा बाँकी थिएन भने क्यान्सर पाठेघरसम्म फैलिसकेको थियो । अहिले अनिताको अवस्था अत्यन्तै दयनीय छ। उनी ओछ्यानमै सीमित छिन् । शरीरको फोहोर (दिसा–पिसाब) पाइपमार्फत बाहिर प्लास्टिकको थैलीमा जम्मा हुन्छ, जसलाई दिनमा तीन–चार पटक फेर्नुपर्छ । पहेँलो भएको शरीर, खान नहुने अवस्था र असह्य पीडा उनको दैनिकी बनेको छ ।

अझ हृदयविदारक कुरा त के छ भने, अहिले उनी दिदीकी साथीको घरमा आश्रय लिइरहेकी छिन्, तर घरबेटीले अब राख्न नसक्ने बताएका छन् । बिरामी अनितालाई तत्काल बस्ने कोठा र २४सै घण्टा हेरचाह गर्ने मान्छेको खाँचो छ । नेपालमा रहेका श्रीमान् पनि बिरामी छन् र आर्थिक अवस्था कमजोर भएकाले अनिताको उपचार त परको कुरा, दुई छाक टार्न पनि मुस्किल छ । यस्तो विषम परिस्थितिमा साइप्रसस्थित नेपाली समुदाय र ‘हेल्पिङ ह्यान्ड साइप्रस’ लगायतका संस्थाहरू मलमपट्टी बनेर आएका छन् । डाक्टरले अझै चार पटक किमोथेरापी गर्नुपर्ने बताएका छन्, जसका लागि अनिता त्यो पीडा सहन तयार छिन् ।

भेट्न जानेहरूसँग उनी भावुक हुँदै भन्छिन्, “म बाँच्न चाहन्छु । मेरी छोरीका लागि । तर यदि म बाँच्न सकिन भने, मेरो उपचारका लागि उठेको पैसा मेरी छोरीलाई दिनु ।”

अनिताको यो अवस्थाले परदेशमा रहेका हरेक नेपालीको मन रोएको छ । उनको उपचार, बसोबास र औषधि खर्च जुटाउन अहिले आर्थिक संकलन अभियान सुरु गरिएको छ । सहयोगी मनहरूले आफ्नो गच्छेअनुसार सहयोग गरिरहेका छन् । यो विपद्को घडीमा सानोभन्दा सानो सहयोगले पनि अनिताको सास धान्न मद्दत पुग्नेछ ।

सहयोग गर्न चाहने महानुभावहरूले Revolut एपमार्फत 97819683 (सुवास वाइबा) मा वा Bank of Cyprus को खाता नम्बर 95119138 (दिनेश महरा) मा रकम जम्मा गर्न सक्नुहुनेछ । थप जानकारीका लागि ९४४३२१३६, ९७५२३८८३ वा ९५११९१३८ मा सम्पर्क गर्न सकिनेछ । अनिताको जीवन अब तपाईं–हाम्रो सहयोगमा निर्भर छ । मानवताको नाताले गरिने सानो सहयोगले एउटा आमालाई छोरीको भविष्यका लागि बाँच्ने आधार प्रदान गर्न सक्छ ।

स्रोत — साइप्रसबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘साइप्रस नेपाल डट.कम’

Leave a Reply