Home Login
पोर्चुगल

सन् २०२६ को सुरुवातमै पोर्चुगलमा प्रकृतिले मच्चायो वितण्डा

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा सन् २०२६ को सुरुवात निकै दुखद र चुनौतीपूर्ण बनेको छ । जनवरीको अन्तिम साता आन्द्र महासागरबाट उठेको शक्तिशाली आँधी ‘क्रिस्टिन’ ले पोर्चुगलको मध्य तथा तटीय क्षेत्रमा भारी वर्षा र विनाशकारी हावाहुरीसहित बितण्डा मच्चाएको छ । यस प्राकृतिक विपत्तिका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ ।

पोर्चुगलका विभिन्न स्थानीय अनलाइन समाचार माध्यमहरूका अनुसार, यो आँधीका कारण कम्तिमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी मानवीय क्षति लेरिया जिल्लामा भएको छ, जहाँ आँधीसँग सम्बन्धित दुर्घटनामा चार जनाको मृत्यु भएको छ । त्यसैगरी, लिस्बन नजिकैको भिला फ्रान्का द सिरामा गुडिरहेको कारमा रुख ढल्दा एक जनाको ज्यान गएको छ । हावाहुरीको तीव्रता यति भयानक थियो कि यसले कैयौं सडक र रेल सेवाहरू अवरुद्ध पारिदिएको छ भने लाखौं मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।

भौतिक क्षतिको विवरण हेर्दा मुटु काप्ने दृश्यहरू देखिएका छन् । लेरिया जिल्ला आँधीबाट सबैभन्दा नराम्ररी प्रभावित भएको छ, जसलाई स्थानीय अधिकारीहरूले “पहिचान नै गर्न नसकिने” अवस्थामा पुगेको बताएका छन् । त्यहाँको म्युनिसिपल फुटबल रङ्गशालाका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने एउटा क्रेन ढलेर सवारी साधनमा क्षति पुगेको छ ।

कोइम्ब्रामा रहेको विमानस्थलमा पनि ठूलो नोक्सानी भएको छ । त्यहाँको मर्मत केन्द्रको छाना उडाउँदा र ह्याङ्गर भत्किँदा पार्क गरिएका करिब सातवटा साना विमानहरू क्षतिग्रस्त भएका छन्, जसको अनुमानित क्षति १० लाख युरोभन्दा बढी रहेको बताइएको छ ।

त्यस्तै, फिगिरा द फोजको तटीय क्षेत्रमा रहेको एउटा विशाल ‘फेरिस ह्विल’ हावाको वेग थाम्न नसकेर गल्र्याम्म ढलेको छ । सोही आँधीले एउटा पुरानो विश्वविद्यालयको छाना उडाउँदा नजिकै रोकिराखेका कारहरू थिचिएका छन् । आँधीको प्रभाव यति व्यापक थियो कि एकैपटक करिब १० लाख घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको थियो । विशेषगरी लेरिया, कोइम्ब्रा, लिस्बन, सान्तारेम र सेतुबल जिल्लाहरूमा विद्युत् र सञ्चार सेवा नराम्ररी प्रभावित भएका छन् ।

विपत्तिको गम्भीरतालाई मध्यनजर गर्दै पोर्चुगल सरकारले प्रभावित क्षेत्रहरूमा ‘आपतकालीन स्थिति’ घोषणा गरेको छ । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले प्रभावित क्षेत्रको भ्रमण गर्दै यसलाई पछिल्ला वर्षहरूकै सबैभन्दा शक्तिशाली आँधीमध्ये एक बताएका छन् र युरोपेली युनियनसँग सहयोगको अपील गर्ने सङ्केत गरेका छन् । अहिले हजारौं सुरक्षाकर्मी र उद्धारकर्ताहरू सडक खुलाउन र विद्युत सेवा सुचारु गर्न अहोरात्र खटिरहेका छन्, यद्यपि मौसम पूर्ण रूपमा सफा नहुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

सन् २०२६ को यो सुरुवाती विपत्तिले पोर्चुगलबासीलाई गहिरो चोट दिएको छ । एकातिर ज्यान गुमाउनेका परिवारमा रुवाबासी छ भने अर्कोतिर भत्किएका घर र संरचनाहरूले आँधीको भयावह तस्बिर पेस गरिरहेका छन् ।

Leave a Reply