काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन् ।
संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन् ।
शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ । उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शेरचनको यो सन्तुलित र मध्यमार्गी अडानका कारण विश्वभरका एनसीसीहरूले उनलाई आफ्नो देशमा संवादका लागि आमन्त्रण गरेका हुन् ।
शेरचनको यो भ्रमण विशेषगरी एनआरएनएभित्र डेलिगेट्स चयन र निर्वाचन प्रणालीमा देखिएका असमझदारी सुल्झाउन केन्द्रित रहनेछ । सहमति र संवादको विकल्प छैन भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शेरचनले संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने पारदर्शी अनलाइन वा भौतिक मतदान प्रक्रिया सुनिश्चित गर्नुपर्ने मागलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
आगामी दुई हप्ताको कार्यतालिका अनुसार आफूले अमेरिका रिजनबाट यात्रा सुरु गर्न लागेका छ्न । जसअनुसार अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा गैरआवासीय नेपालीहरूसँग साक्षात्का र गरिसकेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका विभिन्न देशहरू पुग्नेछन् । युरोपको भ्रमण सम्पन्न गरी उनी एसियाका एनसीसीहरूसँग छलफल गर्दै निर्वाचनका लागि नेपाल आइपुग्ने योजना रहेको छ ।
पछिल्लो समय एनआरएनएको निर्वाचनलाई लिएर देखिएको तिक्तताका बीच शेरचनको यो सक्रियता र एकताको अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनले निर्वाचनलाई विवादको नभई ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने अडान राख्दै आएका छन् । शेरचनको यो मध्यमार्गी भूमिका र सबै पक्षलाई समेट्ने प्रयासले गर्दा नै विभिन्न देशका एनसीसीहरूले उनलाई एकताको अभियन्ताका रूपमा स्वीकार गर्दै स्वागतको तयारी गरेका हुन् ।
एनसीसीहरूले उनको विस्तृत भ्रमण कार्यतालिकालाई अन्तिम रूप दिइरहेका छन् । यसबारे चाँडै विस्तृतमा सार्वजनिक गरिने बताइएको छ । एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुने तय भएको छ ।





