Home Login
बेलायत

ब्रिज इन्टरनेशनल र ब्रिटिश गोर्खाली क्रिकेट लिगबीच टाइटल स्पोन्सर सहकार्य सम्झौता सम्पन्न

लन्डन —  बेलायतमा सक्रिय नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच आधिकारिक रूपमा टाइटल स्पोन्सरशिप सम्झौता सम्पन्न भएको छ ।

लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाले आगामी सहकार्यका लागि औपचारिक हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बेलायती क्रिकेट जगतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स, पूर्व इसिबी म्यानेजर पल बेडफोर्ड लगायतले नेपाली समुदायले क्रिकेट खेलमार्फत पुर्‍याएको योगदानको प्रशंसा गरे ।

त्यसैगरी केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले समेत लिगको सफलताको कामना गरे ।

‘साइनिङ सेरेमोनी’पछि बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अघि बढाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एकै ठाउँमा समेटेर व्यावसायिक मञ्च प्रदान गर्नु गौरवको विषय भएको बताए । बीजीसीएल युकेमा नेपाली खेलाडीहरूलाई समेटेर ४० ओभरको ढाँचामा सञ्चालन भइरहेको पहिलो र एक मात्र लिग हो ।

हालसम्म पाँचवटा सफल सिजन सम्पन्न गरिसकेको यस लिगले ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेर काम गर्दै आएको छ । स्वागत मन्तव्य राख्दै राम धमालाले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए भने भुवन गिरीले ब्रिज इन्टरनेशनल र यसको उद्देश्यबारे जानकारी गराएका थिए । सो अवसरमा बीजीसीएलका अध्यक्ष गम गुरुङले क्रिकेट लिगको आवश्यकता र यसको प्राविधिक पक्षबारे संक्षिप्त प्रस्तुति दिएका थिए ।

Leave a Reply