एलिया लिम्बु।
साइप्रस — युरोपको साइप्रसमा शेर्पा किदुक साइप्रसद्वारा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सम्पन्न भएको छ।
हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ०९ आइतबार ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ सम्पन्न गरेको हो।
कार्यक्रमका सभापति तथा संस्थाकी अध्यक्ष छिरिङ याङ्जुम शेर्पा र प्रमुख अतिथि अवैतनिक नेपाली वाणिज्य दूतावास प्रमुख डा. राम जीवन पन्जियारले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
संस्थाले प्रत्येक वर्ष चर्चित गायकहरूको साथमा मनाउने कार्यक्रम यस वर्ष गत आइतबार जर्मनीमा रहेका चर्चित गायक आङ तेन्जी शेर्पाको साथमा ग्याल्पो लोसार मनाएको हो।
संस्थाकी अध्यक्ष छिरिङ याङ्जुम शेर्पाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अवैतनिक नेपाली वाणिज्य दूतावास साईप्रसका प्रमुख डा. राम जिबन पन्जियारको प्रमुख अतिथि र लामा लाक्पा ग्याल्छेन शेर्पाको विशेष अतिथि रहेको थियो । कार्यक्रममा चर्चित गायक आङ तेन्जी शेर्पाको साथमा स्थानीय कलाकारहरूले पनि बेजोड प्रस्तुति रहेको थियो भने गायक आङ तेन्जी शेर्पा पहिलोपटक सांगीतिक कार्यक्रमको लागि साइप्रस आएका हुन्।
बस्यो मायाले, डाँडाको गुम्बा, तिमी बिना, हिमाली खर्क, कुसुमे रुमाल, यो साँचो माया, लोसार मेला र ल्हासा दरबार जस्ता चर्चित गीतहरूका गायक हुन्, आङ तेन्जी शेर्पा
कार्यक्रममा शेर्पा समुदायको मौलिक नृत्य ‘स्यार्बु’ तथा तामाङ सेलो समेत प्रस्तुत गरिएको थियो। साइप्रसमा रहेका विभिन्न जातीय संस्थाहरू— किरात याक्थुङ चुम्लुङ साइप्रस, नेपाल मगर संघ साइप्रस, किरात राई यायोख्खा साइप्रस बाट मौलिक पहिचान झल्कने नृत्यहरू प्रस्तुत गरिएका थिए भने स्थानीय कलाकारहरूको गायन तथा नृत्य प्रस्तुतिहरुले कार्यक्रम विशेष आकर्षण बनेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव आङ सानु शेर्पाले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष आङ फुर्वा शेर्पाले दिएकी थिइन्
लिमासोलको नियोफिएस्टा हलमा सञ्चालन भएको कार्यक्रममा साइप्रसमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत नेपालीहरूको उपस्थिति रहेको थियो।
स्थापनाकालदेखि नै साइप्रसमा सक्रिय संस्था शेर्पा किदुक साइप्रसले एक दशक पार समेत गरिसकेको छ। साइप्रसमा विभिन्न सामाजिक कामहरूमा हातेमालो र सहकार्य गर्दै अगाडि बढेको यस संस्थाले अहिले १० वर्ष पूरा गरेको समेत आयोजकले बताएको छ।
अध्ययन तथा रोजगारीको सिलसिलामा साइप्रसमा रहेका नेपालीहरूको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो। आयोजक शेर्पा किदुक साइप्रसले कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
कार्यक्रमका केही तस्वीरहरू —