लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलमा नेपाली चलचित्र ‘परान’ ले दर्शकको मन जित्न सफल भएको छ । प्रदर्शनको पहिलो चरणमै दर्शकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्र, दर्शकहरूको अत्याधिक मागलाई सम्मान गर्दै पुनः एकपटक प्रदर्शन गरिने भएको छ ।
दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित यस चलचित्रको पुनः प्रदर्शन यही डिसेम्बर ९ तारिख (मंगलबार) का दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने तय भएको छ । चलचित्र साँझ ५ बजेदेखि प्रदर्शनमा आउने भएको हो । यसअघि डिसेम्बर १, २ र ३ तारिखमा गरिएका तीनवटै शोहरू सफलतापूर्वक सम्पन्न भएका थिए । तीन शो प्रदर्शन भइसक्दा पनि चलचित्र हेर्न नपाएका र हेर्न चाहने दर्शकहरूको बाक्लो उपस्थिति र निरन्तरको अनुरोधपछि आयोजकले चौथो शो आयोजना गर्ने निर्णय गरेको हो । यो विशेष प्रदर्शनी लिस्बनको मुटु मानिने प्रतिष्ठित ‘क्याम्पो पिकेनो’ स्थित सिनेमा सिटी हलमा हुनेछ ।
चलचित्र ‘परान’ ले परिवार, आपसी सम्बन्ध र जीवनको सङ्घर्षको मार्मिक कथालाई पर्दामा उतारेको छ । चलचित्रको कथावस्तु मात्र नभई यसमा नेपाली चलचित्र क्षेत्रका दिग्गज तथा लोकप्रिय कलाकारहरूको अभिनयले पनि दर्शकलाई हलसम्म तानेको हो । चलचित्रमा वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठदेखि लोकप्रिय अभिनेत्री केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतका कलाकारहरूको बेजोड अभिनय रहेको छ । प्रवासमा रहेर पनि नेपालीपन र मौलिक कथा बोकेको चलचित्र हेर्न पाउनु दर्शकका लागि नौलो अनुभव बनेको छ ।
पोर्चुगलमा यो चलचित्रको प्रदर्शनीको जिम्मा ‘थैङक यू इन्टरटेनमेन्ट’ ले लिएको हो । मनोरन्जनको क्षेत्रमा यो समूहको यो पहिलो प्रयास भए तापनि व्यवस्थापन र चलचित्रको छनोटमा उनीहरू सफल देखिएका छन् । आयोजक टिममा पोर्चुगलस्थित नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नता रहेको छ । जसमा कलाकार एवं समाजसेवी सन्तोष तामाङ, चलचित्र निर्देशक प्रवेश पौडेल, मोडल एवं रेस्टुरेन्ट व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह रहेका छन् ।
स्मरण रहोस्, आयोजकले सामाजिक सम्मान र सद्भाव झल्काउँदै डिसेम्बर ३ तारिखको अन्तिम शोमा ६५ वर्षभन्दा माथिका वृद्ध बुबाआमाहरूलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएको थियो, जसको समुदायमा निकै प्रशंसा भएको थियो ।
डिसेम्बर ९ मा हुने प्रदर्शनका लागि प्रति व्यक्ति टिकट दर १३.९९ युरो तोकिएको छ । आयोजकले सिट सुरक्षित गर्नका लागि अग्रिम बुकिङ समेत खुला गरिसकेको छ । आयोजक कमिटीले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई नेपाली कला, संस्कृति र चलचित्रलाई माया गरिदिनहुन हार्दिक अनुरोध गरेको छ ।
दर्शकहरूले अनलाइन लिङ्क मार्फत वा सिधै आयोजकलाई सम्पर्क गरेर टिकट बुकिङ गर्न सक्नेछन् । टिकट तथा थप जानकारीका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ ।
+351-920144214
+351-966001172
+351-964556447
+351-920447936
+351-913780325






