लिस्बन, पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको ‘सांगितिक साँझ तथा कलाकार सम्मान’ कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ । पोर्चुगलमा रहेका नवलपुरवासी तथा अन्य नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
समाजले आफ्नो जिल्लावासी चर्चित कलाकार भट्टराईलाई युरोपली मुलुक पोर्चुगलमा स्वागत तथा सम्मानस्वरूप कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपालीहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नु र नेपाली कला, संस्कृतिलाई जीवन्त राख्नु रहेको आयोजकले जनाएको छ ।
चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईले ‘बेहुला बनाउछु भन्थि बहुला बनार गई, आज पनि पापी सहरमा बबाल भो बबाल भो, तिमी लाष्टै राम्री छौ र पो म फिदा भाको छु, टन्न पैसा कमाउला भन्थ्यौ सुखै सुखमा रमाउला भन्थ्यौ, राजा राजा भन्थि बाजा बजाएर गई, होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छिको मिठो बोलीमा, खु्ट्टा भए जुत्ता छानी छानी पाईन्छ यो बजारमा जस्ता आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए । उनको प्रस्तुतिमा उपस्थित दर्शकहरूले नाचेर साथ दिएका थिए, जसले कार्यक्रमको माहोललाई थप उत्साहित बनाएको थियो ।
कार्यक्रममा गायक भट्टराईका अलावा पोर्चुगलमा स्थापित नेपाली कलाकारहरूले पनि आफ्नो गायन प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो ।
नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृतीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै कलाकार, सहयोगी संस्था, प्रायोजक तथा उपस्थित दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उनले प्रवासमा रहेर पनि आफ्नो जिल्ला र देशको भाषा, संस्कृति र पहिचानलाई जोगाइराख्न समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
फिनल्यान्डमा रहेको चौतारी इभेन्टको निमन्त्रणा गायक भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आएका हुन् । उनी यतिखेर साङ्गीतिक कार्यक्रमका लागि ‘युरोप टुर’ अन्तर्गत युरोपको पहिलो कार्यक्रम फिनल्यान्डको हेलसिन्कीमा जुलाई ५ तारिख सम्पन्न भइसकेको छ
सांगीतिक कार्यक्रमका लागि उनी युरोपको पोर्चुगल, स्पेन, फिनल्यान्ड, पोल्याण्ड, बेल्जियम, चेक रिपब्लिक लगायत युरोपको विभिन्न देशहरूमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।
पछिल्लो समयमा व्यस्त रहेका गायक हुन् रमेशराज भट्टराई, स्वदेश तथा विदेशमा उत्तिकै स्टेज कार्यक्रम गर्दै आइरहेका गायक भट्टराई, पोहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आएका हुन् ।
पोर्चुगलमा भने उनको दुईवटा कार्यक्रम सम्पन्न भइसकेको छ । जुलाई ८ तारिख, मंगलबार राजधानी लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको हो । अर्को कार्यक्रम बुधबार ‘भिल्ला नोभा डे मिल्फोन्टेस’ मा गायक रमेश राज भट्टराईको ‘सांगीतिक एकल साँझ’ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले प्रवासको व्यस्त जीवनमा यस्ता सांस्कृतिक कार्यक्रमले मनमा आनन्द र आफ्नोपनको महसुस गराएको प्रतिक्रिया दिए । कार्यक्रमको सफल आयोजनाले नवलपुर समाज पोर्चुगलले पोर्चुगलको नेपाली समुदायमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।
चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको ‘युरोप टुर’ अन्तर्गत जुलाई १३ तारिख हुने कार्यक्रमको लागि उनी भोलि शुक्रबार पोर्चुगलदेखि बेल्जियम जाने तयारीमा छन् ।
कार्यक्रमको तस्वीरहरु :