लिस्बन, पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले एक सूचना प्रकाशित गरी राहदानी आवेदन दिएका आवेदकहरूका लागि राहदानी वितरणको व्यवस्था मिलाएको जनाएको छ ।
दूतावासका अनुसार, वेबसाइटमा उल्लिखित सूचीमा नाम भएका आवेदकहरूका राहदानीहरू दूतावासमा आइपुगेका छन् र वितरणका लागि तयार छन् ।
राहदानी लिनका लागि आवेदकहरूले आफ्नो सक्कली पुरानो राहदानी र शुल्क तिरेको रसिद अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ । आवेदकहरूले कार्यालय खुलेको दिन दिउँसो २ बजेपछि लिस्बनको Rua Pero de Alenquer 29, 1400-069 स्थित राजदूतावासको कार्यालयमा स्वयं उपस्थित भएर आफ्नो राहदानी बुझ्न सक्नेछन् ।
कुनै कारणवश आवेदक स्वयं उपस्थित हुन नसक्ने अवस्थामा, आफ्नो प्रतिनिधिमार्फत पनि राहदानी संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसका लागि प्रतिनिधिले आवेदकको सक्कली राहदानी, शुल्क तिरेको रसिद र आवेदकले प्रदान गरेको मञ्जुरीनामा पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
दूतावासले राहदानी लिन आउँदा प्रक्रियालाई सहज बनाउन आवेदकहरूलाई आफ्नो नाम रहेको क्रम संख्या (S.No.) पहिले नै नोट गरेर कर्मचारीलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।
राहदानी तयार भएका आवेदकहरूको नामावली र अन्य विस्तृत जानकारी राजदूतावासको आधिकारिक वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ । पहिलो चरणमा ६ सय ५७ वटा राहदानीहरू दूतावासको कार्यालयमा आइपुगेको हो ।